Ad Image

घोडाघोडी नगरपालिकामा तीन वर्षदेखि कृषि हाटबजारको संरचना प्रयोगविहीन

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725251873.jpg

कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडनजिक तीन वर्षअघि निर्माण गरिएका कृषि हाटबजारका संरचना अझै पनि प्रयोगमा आउन सकेका छैनन्। प्रदेश सरकारको सहयोगमा करिब ६५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो संरचना स्थानीयको पायक पर्ने ठाउँमा नबनेकाले प्रयोगविहीन अवस्थामा पुगेको छ। 

स्थानीय शान्ति चौधरीले पायक पर्ने स्थानमा निर्माण नभएकाले किसानहरू खुला ठाउँमा घामपानी सहेर आफ्नो उत्पादन बेच्न बाध्य भएको बताएकी छन्। जग्गा विवादका कारण प्रारम्भिक स्थानबाट अन्यत्र सारिएको यो संरचना प्रयोगमा नल्याएकोमा स्थानीयवासीहरूले नगरपालिकाको कमजोरी औँल्याएका छन्। 

सुदूरपश्चिम प्रदेश सरकारबाट कृषि ज्ञान केन्द्रमार्फत उपलब्ध अनुदानमा निर्माण गरिए पनि व्यवस्थापनमा ध्यान नदिँदा यो संरचना राज्यको लगानीको सदुपयोग गर्न असफल भएको हो। 

प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले कृषि हाटबजार तीन महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिए पनि, स्थानीय तहको चासो नदेखाउँदा र अनुदान वितरण गर्ने निकायबाट अनुगमन नहुँदा यो समस्या उत्पन्न भएको समितिका सदस्य सन्तोष शर्मा थापाले बताए।