शिक्षकका समस्या वार्ताबाट समाधान गर्ने शिक्षा मन्त्री पन्तको प्रतिबद्धता


काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकका समस्या वार्ताबाट समाधान गर्ने बताएका छन् । पदभार ग्रहण गर्दै मन्त्री पन्तले शिक्षकका समस्याबारे आफू जानकार रहेको र वार्ताबाट चाँडै समस्या समाधान गर्ने बताएका हुन् ।
उनले भने, ‘भर्खर मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । शिक्षकहरूका मागका विषयमा जानकार छु । मन्त्रालयका अधिकारीहरूले वार्ताको लागि पहल गरिरहेका छन् । यो विषयमा बुझेपछि आफ्नो धारणा बनाउँला ।’
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि आन्दोलनमा छन् । यसैबीचमा शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि बुधबार पन्त शिक्षा मन्त्रीमा नियुक्त भएका छन् ।