Ad Image

पक्राउ पुर्जी जारी भएको एक महिना बित्दा पनि पक्राउ परेनन् वडाध्यक्ष

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745496680.jpg

सिरहा । जिल्ला अदालत सिरहाले आपराधिक उपद्रव, आगजनी र लुटपाटको आरोपमा सिरहा नगरपालिका–१३ का वडाध्यक्ष सर्भेन्द्र साहसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, राजनीतिक संरक्षणका कारण प्रहरीले अझैसम्म उनीहरूलाई पक्राउ गर्न सकेको छैन।


एमालेबाट निर्वाचित वडाध्यक्ष साहसहित प्रकाश महतो, दुखी महतो, पञ्चलाल महतो, सोगारथ महतो, अमन महतो, रामदिनेश यादव, सतिश यादव, जीवछ महतो, सोभित महतो, खुशीलाल महतो र पाण्डब महतोविरुद्ध गएको चैत १३ गते उच्च अदालत राजविराजको परमादेश अनुसार जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा दर्ता गरिएको थियो ।


वडाध्यक्षसहित १२ जनाविरुद्ध गएको चैत १७ गते नै अदालतले पक्राउ पुर्जी जारी गरिसकेको एक महिना नाघिसक्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन । उनीहरु अहिले पनि खुलेआम घुमिरहेको स्थानीयबासिन्दा दिनेश यादवले बताएका छन् ।


घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले बताए । “म आउनुभन्दा पहिले यो मुद्दा दर्ता भएको रहेछ, तर अहिले अनुसन्धान भइरहेको छ, ” उनले भने ।


पीडित पक्षका अनुसार २०८० पुष २२ गते वडाध्यक्षसहितको समूहले सिरहा–१३ फुलबरियामा बसोबास गर्दै आएका ६६ वर्षीय रामसेवक भण्डारीको घरमा लुटपाट, गालीगलौज र आगजनी गरेका थिए । भण्डारी परिवारले आफ्नो जग्गामा तारबार गर्न खोज्दा उनीहरुले दुर्व्यवहार गर्दै घरमा आगजनी गरेका थिए भने सुनचाँदी लगायतका सामाग्री लुटपाट गरेर करिब ५० लाख रुपैयाँ बराबरको क्षति पुर्याएको रिट निवेदनमा उल्लेख छ ।


भण्डारीले पटक–पटक जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न खोज्दा पनि प्रहरीले नमानेपछि उनले सोही वर्ष असार २१ गते उच्च अदालत राजविराजमा रिट दर्ता गरेका थिए ।


स्थानीयका अनुसार सिरहा–३ का प्रतिनिधिसभा सदस्य तथा पूर्वकानून मन्त्री लिलानाथ श्रेष्ठको दबावका कारण प्रहरीले वडाध्यक्षसहितका अभियुक्तहरुलाई पक्राउ गर्न नसकेको आरोप छ।