ओलीले कार्यकर्तालाई भने, 'सरकारको चिन्ता नलिनुस्, ढुक्कले मिसन ८४ मा लाग्नुस्'


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई ढुक्क भएर २०८४ सालको चुनावको तयारी गर्न निर्देशन दिएका छन् । बिहीबार काठमाडौंको भृकुटिमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार भन्दा पनि आगामी निर्वाचनका बारेमा चिन्ता लिन आग्रह गरेका हुन् ।
उनले नेकपा एमाले र कांग्रेसको सरकार एउटा संकल्पका साथ बनेको भन्दै यो स्थिरता र स्थायीत्वका लागि बनेको सरकार भएको दाबी समेत गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘नेकपा एमालेले सरकार बनाऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन । नेकपा एमालेले सधैं चुनाव हेरेको हुन्छ । हामीले ७० को चुनाव भन्यौं । र ८४ को चुनाव भनिरहेका छौं । ढुक्कले मिसन ८४ मा लाग्नुस् ।’
प्रधानमन्त्री ओलीले कतिपयले सरकार ढल्छ भनेर भ्रम छरिरहेको बताउँदै अहिलेको गठबन्धन स्थिरता र स्थायीत्वका लागि बनेको दाबी गरे । उनले भने, ‘सरकार ढल्छ भनेर भन्न थालेका छन्। लोकतन्त्रमा सरकार बन्दा ५ वर्षका लागि बन्छ । यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि कसैको वंशको शासन हुन्छ । ५० वर्षका लागि हुन्छ, २५० वर्षका लागि हुन्छ, १०४ वर्षका लागि हुन्छ भनेजस्तो । हामीले भनेको स्थिरता जनताको अभिमतसहितको स्थिरता हो ।’