Ad Image

यो व्यवस्था जोगाउन सबै दल एकै ठाउँमा आउनुपर्छ : उपप्रधानमन्त्री सिंह

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745499908.jpg

भक्तपुर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनआन्दोलनबाट प्राप्त जनताको अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् । 

 

आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसका समाजवादी नेता जगन्नाथ आचार्यको १०२ औँ जन्मजयन्ती कार्यक्रममा उनले अधिकार प्राप्तिका लागि कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएर आन्दोलन गरे जस्तै उपलब्धि रक्षाका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको बताए । 
 

अधिकार मात्र माग्ने तर कर्तव्य पूरा नगर्नाले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउँदै उपप्रधानमन्त्री सिंहले भने, “विसं २०४६ को आन्दोलन होस् या २०६२/०६३ को जनआन्दोलन सबै दलहरू एक ठाउँमा उभिएर सङ्घर्ष गर्दै ठूलो त्याग, तपस्या र बलिदानबाट ल्याएको यो अधिकार र व्यवस्था हो, यो व्यवस्था जोगाउन सबै दल एकै ठाउँमा आउनु आवश्यक छ । अधिकार खोज्ने तर संरक्षण नगर्ने र कसैको लहैलहैमा लाग्ने हो भने मुस्किलले प्राप्त गरेको अधिकार गुम्नसक्ने खतरा आउन सक्छ ।”

 

उनले जगन्नाथ आचार्यको राजनीतिक योगदानको चर्चा गर्दै २०४६ सालको जनआन्दोलनपछि गणेशमान सिंहले प्राप्त प्रजातन्त्रलाई सही बाटोमा लैजान सुरु गरेको जनजागरण अभियानमा आफूले संयोजक भएर काम गरेको स्मरण गरे । कार्यक्रममा नेताहरु ढुण्डराज शास्त्री, तिलकप्रकाश कायस्थ, गोविन्द जोशीलाई सम्मान गरिएको थियो ।