उधारो असुली गर्न सकिने कानुन बनाउन सांसद पराजुलीको माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले व्यापारमा दिइने उधारो रकम समयमै असुली गर्न सकिने कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभामा आज बोल्दै उनले व्यापारको क्रममा उधारो दिनुपर्ने अवस्था आउने तर समयमै रकम फिर्ता नपाउँदा व्यापारीहरू मानसिक तनावमा पर्ने गरेको उल्लेख गरे ।
“धेरै व्यापारीहरू उधारो उठाउन नसक्दा ऋणको भारमा थिचिएर डिप्रेशनमा जानु परेको छ, केहीले त आत्महत्या गर्नेसम्मको अवस्था आएको छ,“ पराजुलीले भने ।
व्यवसायिक कारोबारलाई सुरक्षित र विश्वसनीय बनाउन उधारो असुलीसम्बन्धी स्पष्ट कानुन आवश्यक भएको उनको धारणा थियो ।
उनले यस्तो कानुनले व्यवसायमा पारदर्शिता ल्याउने र साना व्यापारीहरूलाई राहत दिने विश्वास व्यक्त गरे ।