चन्द्रपुरमा थप १४ वटा सोसीटीभी क्यामेरा जडान


रौतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुरमा सुरक्षा व्यवस्था सुदृढ पार्ने उद्देश्यले थप १४ वटा आधुनिक सिसीटिभी क्यामेरा जडान गरिएको छ ।
सवारी दुर्घटना, चोरी, लुटपाट लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण गर्न तथा अपराधीहरूलाई छिटो पत्ता लगाउन प्रविधिको सहायतामा प्रहरी कार्यलाई प्रभावकारी बनाउन यी क्यामेरा स्थापना गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा र प्रहरी कार्यालयको पहलमा नगरका विभिन्न स्थानमा ६ वटा एनपिआर (नम्बर प्लेट रिडर) सहित १४ वटा क्यामेरा जडान गरिएको हो । यी क्यामेराले दिनरात दुवै समयमा सवारीसाधनको नम्बर प्लेट सजिलै चिन्न सक्छन्, जसले अपराध अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।
डिएसपी राजकुमार राईका अनुसार, यसअघि नै नगरमा ३२ वटा सिसी टिभी क्यामेरा सक्रिय थिए । नयाँ थपसँगै कूल ४६ वटा क्यामेराबाट चन्द्रपुर क्षेत्रमा हुने गतिविधिहरू २४ सै घण्टा निगरानीमा रहनेछन् ।