Ad Image

बागमतीका गणित शिक्षकहरूको तीन दिने तालीम चितवनमा सञ्चालन

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746953062.jpg

चितवन । नेपाल गणित समाज केन्द्र र बागमती प्रदेश समितिको आयोजनामा, निक सिमोन्स फाउन्डेसनको आंशिक सहयोगमा ‘समुदायदेखि समुदायसम्म ‘एसटूएस’ कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ का शिक्षकहरूको तीन दिने तालिम चितवनको सौराहामा सुरु भएको छ ।

 

तालिममा बागमती प्रदेशभरिका ६१ जना गणित शिक्षकहरूको सहभागिता छ । कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष डा. श्रीराम खड्काको अध्यक्षता तथा बाग्मती प्रदेश समिति सभापति डा. राजा राम आचार्यको सह–अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. पुष्कर बहादुर पाल उपस्थित थिए ।

 

कार्यक्रम सञ्चालन डा. रमेश गौतमले गरेका थिए भने स्वागत मन्तव्य समाजका उपसभापति डा. परमेश्वरी कट्टेलले राखे ।

 

उद्घाटन सत्रमा गणित विभाग त्रिविका प्रमुख तथा पूर्व अध्यक्ष डा. चेतराज भट्ट, वीरेन्द्र क्याम्पस प्रमुख डा. प्रेम सागर भण्डारी, नेपाल फिजिकल सोसाइटी बाग्मतीका डा. हरिहर पौडेल, नेपाल केमिकल सोसाइटी बाग्मतीका डा. गङ्गाराज पोखरेल, प्याप्सन चितवनका अध्यक्ष मदन पुरी, हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।

 

वक्ताहरूले गणित शिक्षण सुधारका लागि यस्ता तालिमहरू आवश्यक रहेको बताउँदै नेपाल गणित समाजको पहललाई सकारात्मक र प्रभावकारी बताए । समापनमा समाज अध्यक्ष डा. खड्काले गणित शिक्षणको स्तरोन्नतिका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक भएको भन्दै यस कार्यमा साथ दिन आग्रह गरे ।

 

यसअघि वैशाख १७–२४ सम्म तालिमको भर्चुअल संस्करण सम्पन्न भएको थियो। भौतिक तालिम वैशाख २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ, जसमा विद्यालय तहका पाठ्य वस्तुहरू समूहगत छलफलमार्फत समीक्षा गरिनेछ ।