पार्टीभित्र असन्तुष्ट प्रवृत्तिबाट एमाले जोगाउन चुनौती : प्रदीप ज्ञवाली


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पटक–पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन मुस्किल भइरहेको बताएका छन् ।
दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित स्व. नेता पशुपति चौलागाईंको चौथो स्मृति सभामा बोल्दै उनले अवसरप्राप्त नेताहरू नै असन्तुष्ट भई पार्टीमा विभाजनको प्रवृत्ति बढाएको आरोप लगाए ।
ज्ञवालीले निष्ठावान् कार्यकर्ताले विना अपेक्षा पार्टीका लागि खटिरहेको बेला पटक–पटक अवसर पाएकाहरूले घात गर्ने प्रवृत्ति बढिरहेको बताए । उनले पार्टीलाई सङ्कटमा पार्ने त्यस्ता प्रवृत्तिलाई परास्त गर्न चौलागाईंको इमानदारिताबाट प्रेरणा लिनुपर्ने धारणा राखे ।
उनले कोरा राजनीति त्यागेर जनताको जीवनसँग जोडिएको विकासमुखी राजनीति गर्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा एमालेका विभिन्न नेताहरूले चौलागाईंको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरे । चौलागाईंको चार वर्षअघि कोभिड सङ्क्रमणका कारण निधन भएको थियो ।