१० करोड बढीको लागतमा बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माण


बाजुरा । बुढीगङ्गा नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवन निर्माण भएको छ । रु १० करोड ५५ लाख ५३४ को लागतमा भवन निर्माण गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।
पहिलो स्थानीय तहको निर्वाचनपछि निर्माण सुरु भएको भवन २०८१ सालमा निर्माण सम्पन्न भई कामकाज सुरु गरे पनि आज औपचारिक उद्घाटन गरिएको नगरप्रमुख बानियाँले बताए । पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले यहाँ आयोजित बुढीगङ्गाको विकासका लागि कचहरी कार्यक्रमका अवसरमा भवन उद्घाटन गरेका हुन् ।
चारतले अत्याधुनिक प्रशासकीय भवनमा बैठक कक्षसहित २४ कोठा रहेका छन् । भवनमा अत्याधुनिक लिफ्टसहितको व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले जानकारी दिए । नगरपालिकामा रहेका १० वडामध्ये हालसम्म सात वडा कार्यालय निर्माण सम्पन्न भएका उनले बताए ।