विपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टालाई स्थगित


काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि आधा घण्टालाई बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठकको आजको कार्बाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए । पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताए । उनले यो प्रकरणको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद् बैठक अघि बढ्न नसक्ने उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले मार्ग प्रशस्त गर्न आग्रह गरे ।
सभामुखले सत्तापक्षका सांसदलाई बोल्ने पालो दिनेबित्तिकै विपक्षीहरुले पुन: संसद अवरुद्ध गरेपछि सभामुखले आधा घण्टालाई संसद स्थगित भएको घोषण गरेका छन् ।