कोशी नदीको कटान रोकिएसँगै श्रीलङ्का टप्पुवासीले फेरे राहतको सास
सप्तकोशी नदीको कटानबाट वर्षेनी त्रस्त हुने वराहक्षेत्र नगरपालिका–६, ९ र बेलका नगरपालिका–२, ३ का श्रीलङ्का टप्पुवासीले यस वर्ष वर्षा कम भएकाले केही राहत महसुस गरेका छन्।
No Author Assigned | २०८१ असोज २ गते १६:१३
सप्तकोशी नदीको कटानबाट वर्षेनी त्रस्त हुने वराहक्षेत्र नगरपालिका–६, ९ र बेलका नगरपालिका–२, ३ का श्रीलङ्का टप्पुवासीले यस वर्ष वर्षा कम भएकाले केही राहत महसुस गरेका छन्।
हरेक वर्ष जेठदेखि भदौसम्म नदीमा पानीको सतह बढ्दा बस्ती नै डुब्ने त्रास हुने गरे पनि यस पटकको कटान कम भएपछि स्थानीयवासीले सन्तोषको सास फेरेका हुन्। यस वर्ष करिब २५ बिघाभन्दा बढी जमिन नदीको कटानमा परेको भए पनि कटानको गति रोकिँदा बस्ती केही सुरक्षित भएको छ।
स्थानीय ५७ वर्षीय बद्री राईका अनुसार यदि नदीले यसरी नै कटान गर्दै जाने हो भने केही वर्षमै श्रीलङ्का टप्पुको नामोनिशान मेटिनेछ। स्थानीय विनोद मण्डलका अनुसार हरेक वर्ष घर सार्नुपर्ने तथा खेती पनि नदीले बगाने गरेको छ।
कटानबाट थातथलो गुमाएका यहाँका बासिन्दाले कतैबाट मुआब्जा वा क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्। उनीहरूले सुरक्षित बसोबासको व्यवस्था गरिनुपर्ने माग राखेका छन्। विगतमा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो क्षेत्र अहिले कोशी नदीको तीव्र कटानका कारण संकटमा परेको छ।
धेरै जसो टप्पुवासीको अन्यत्र जग्गाजमिन नभएकाले आफ्नो थातथलो छोड्न नसकेको उद्धव पोख्रेलले बताएका छन्। अहिले पनि सात हजारभन्दा बढी मानिसले यस क्षेत्रमा बसोबास गरिरहेका छन्।
Facebook Comments