काठमाडौँ महानगरको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ अन्तर्गत प्रदर्शनी सुरु

नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा असोज ४ गतेदेखि सुरु गरिएको यो प्रदर्शनी हरेक शुक्रबार र शनिबार सञ्चालन हुने छ।

No Author Assigned | २०८१ असोज ५ गते १७:४३
Image of storage/news/1726907331.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरुमा उत्पादन भएका वस्तु तथा सामग्रीको प्रदर्शनी तथा विक्री सुरु गरेको छ। 

 

नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा असोज ४ गतेदेखि सुरु गरिएको यो प्रदर्शनी हरेक शुक्रबार र शनिबार सञ्चालन हुने छ।

प्रदर्शनीका लागि महानगरका उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको सम्झौतामा सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौला र अस्पायर भेन्चरका कार्यकारी निर्देशक निरुशा राजभण्डारीले हस्ताक्षर गरेका थिए। यो सम्झौता १ वर्षका लागि गरिएको हो।

पहिलो दिन १७ वटा स्टल राखिएका थिए, जसमा १५ वटा वडाबाट छनोट गरिएका नमूना उद्यम र गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत दुई समूह सहभागी थिए। महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न यो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ।

वडाहरुबाट गुन्द्रुक, मस्यौरा, तितौरा, फेल्टका सामान, सेरामिक्सका उत्पादन, क्रिस्टल र पोतेका गहना, दुना-टपरी, रुद्राक्षका माला, अचार, सुकुल, काष्ठकला, मूर्ति कुँद्ने कला, जुत्ता, र व्यागजस्ता वस्तु नमूना उद्यमका रूपमा प्रदर्शनीमा राखिएका छन्।  

महानगरपालिकाले यस कार्यक्रमबाट स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयात गरिएका सामानलाई विस्थापित गर्ने योजना अघि सारेको छ। साथै, काठमाडौँ उत्पादनलाई छुट्टै स्थान दिनेगरी ‘नेपाल उत्पादन मेला’ आयोजना गर्ने तयारी पनि गरिरहेको छ।


Facebook Comments