भीमदत्त नगरपालिकामा हरेक शुक्रबार 'बुक लेस फ्राइडे' कार्यक्रम लागू
काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘बुक फ्रि डे’ को अनुकरण गर्दै नगर शिक्षा समितिको निर्णयअनुसार लागू गरिएको हो।
No Author Assigned | २०८१ असोज ११ गते २१:१८
कञ्चनपुर । भीमदत्त नगरपालिकाले हरेक शुक्रबार विद्यार्थीले किताब बोकेर विद्यालय जानुनपर्ने ‘बुक लेस फ्राइडे’ कार्यक्रम कार्यान्वयन गर्ने निर्देशन दिएको छ। यो कार्यक्रम काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘बुक फ्रि डे’ को अनुकरण गर्दै नगर शिक्षा समितिको निर्णयअनुसार लागू गरिएको हो।
नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरूलाई बिहीबार पत्र जारी गर्दै हरेक शुक्रबार पाठ्यपुस्तक विनाको शिक्षण पद्धति अपनाई जीवनोपयोगी ज्ञान र व्यवहारिक सिकाइमा जोड दिन आग्रह गरेको छ।
शुक्रबार विद्यार्थी र शिक्षकहरूलाई मौलिक तथा सांस्कृतिक पोशाकमा विद्यालय उपस्थित हुन उत्प्रेरित गराउँदै योग अभ्यास र व्यवहारिक शिक्षाका विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। नगरपालिकाले विद्यालयहरूलाई हरेक शुक्रबारको गतिविधिको प्रतिवेदन तयार गरी नगर शिक्षा शाखामा बुझाउन पनि निर्देशन दिएको छ।

Facebook Comments