साँगे सभ्यताबारे पुस्तक ‘साँगे दर्पण’ सार्वजनिक

User Image मेयरसाप डेस्क | २०८२ जेठ १० गते १९:३१
Image of https://mayorsap.com/storage/photos/10/a sage darpan.PNG

काठमाडौं । साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्वारा प्रकाशित ‘साँगे दर्पण’ नामक पुस्तक आज लोकार्पण गरिएको छ । काठमाडौँको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनको सभाहलमा सो अभियानका अभियन्ताहरुले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन्।

गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिकाभित्र पर्ने साँगे उपत्यकाका बासिन्दाको पहलमा गठन भएको अभियानले स्थानीय सभ्यता, संस्कृति, परम्परा र समकालीन सामाजिक रूपान्तरणलाई दस्तावेजीकरण गर्न पुस्तक प्रकाशित गरेको हो ।

अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगे दर्पण पुस्तकमा उपत्यकाको मौलिक पहिचान, भाषा, जीवनशैली, संस्कार, संस्कृतिका विविध आयाम तथा विगतदेखि वर्तमान हुँदै भविष्यसम्मको रुपान्तरण प्रक्रियासम्बन्धी विभिन्न लेख, रचना र अध्ययन समावेश गरिएको जानकारी दिए।

कार्यक्रममा साहित्य, संस्कृति तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति थियो । साथै अभियानमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । यस पुस्तकले साँगे उपत्यकाको गहिरो सांस्कृतिक चेतना र इतिहासलाई भाविपुस्ताका लागि संरक्षण गर्ने विश्वास व्यक्त गरिएको छ ।


Facebook Comments