मनाङमा विषादी न्यूनिकरण अभियान, जैविक खेतीप्रति किसान आकर्षित


मनाङ । हिमाली जिल्ला मनाङलाई विषादीरहित कृषि उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा चिनिन्छ । तर, पछिल्लो समय यहाँ पनि रासायनिक विषादी प्रयोगको सम्भावना बढ्न थालेपछि कृषि ज्ञान केन्द्रले समुदायस्तरमै सचेतना फैलाउने अभियान सुरु गरेको छ ।
कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीका अनुसार यहाँ केही किसानले बढी उत्पादनका लागि र किराफट्याङ्ग्रा नियन्त्रण गर्न विषादी प्रयोग गर्न थालेका छन् । त्यसैले विषादी प्रयोगको असर र विकल्पबारे जानकारी दिन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
‘रासायनिक विषादीको प्रयोग कम गर्दै जैविक मल, जस्तै स्थानीय वनस्पति, गोबर, गहुँत प्रयोग गरी माटोको उर्वरतामा वृद्धि गर्ने उपाय सिकाइएको छ,’ रेग्मीले बताए । उनले सिस्नु र तितेपातीबाट बनाइने जैविक मल तथा वानस्पतिक झोलमलका विधि सिकाइएको जानकारी पनि दिए ।
चामे गाउँपालिका–२ का ४२ जना किसानलाई प्राङ्गारिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यले प्रशिक्षण दिइएको छ । विषादीरहित उत्पादनले मानव स्वास्थ्यमा पर्ने असर कम गर्ने र जैविक खेतीलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको केन्द्रले जनाएको छ ।
मनाङको वातावरण र पर्यटनसँग जोडिएको विषादीरहित खानपानको छविलाई व्यवहारमा पनि उतार्नुपर्ने आवश्यकता रहेको प्रमुख रेग्मीको भनाइ छ । ‘पर्यटकहरूले विषादीरहित खानपान पाउँदा सन्तुष्टि लिन्छन्, यसले क्षेत्रीय ब्रान्डिङमा समेत टेवा पुग्छ,’ उनले भने ।
हाल मौसममा आएको परिवर्तनका कारण विषादी प्रयोगको आशंका बढेको भन्दै केन्द्रले किसानहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्यसँग प्रत्यक्ष जोडिने विषय भएकाले विषादी प्रयोगलाई निरुत्साहित गर्दै पूर्ण जैविक खेतीतर्फ अग्रसर हुनुपर्ने केन्द्रको भनाइ छ ।