पुर्ख्यौली सीपमा आत्मनिर्भर गङ्गाराम भन्छन्– ‘मेसिन अनुदानमा पाउनुपर्यो’


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१०, खल्ला बस्तीका गङ्गाराम चुनारा परम्परागत काठका भाँडाकुँडा बनाउने सीपमा निपूर्ण छन् । बाजेबाट बुबा हुँदै आफूसम्म हस्तान्तरण भएको सीप अहिले पनि उनको परिवारको मुख्य जीविकाको आधार बनेको छ ।
“बाजेबाट बुबाले सिके, बुबाबाट मैले,” गङ्गाराम भन्छन्, “यो नै परिवार पाल्ने माध्यम हो।” यद्यपि अहिले भाँडाकुँडा मेसिनबाट उत्पादन हुने भए पनि गङ्गारामसँग आफ्नै मेसिन छैन । उनी विभिन्न फर्निचर उद्योगमा गएर कामदारका रूपमा भाँडाकुँडा बनाउने गर्छन् । स्थायी काम नपाएकाले कहिले काँही बेरोजगार हुनुपर्छ ।
दैनिक रु १,००० देखि १,५०० सम्म आम्दानी भए पनि काम नहुँदा आठ जनाको परिवार पाल्न मुस्किल हुने गङ्गाराम बताउँछन् । उनले ठेकी, डोक्नी, गिलास, मादल, अम्खोरा, गजुरजस्ता परम्परागत सामग्री तयार गर्छन् । एउटा सामग्रीको पारिश्रमिक रु १०० देखि रु ६०० सम्म पाउने गरेका छन् ।
“आफ्नै मेसिन भए सहज हुन्थ्यो,” गङ्गाराम भन्छन्, “तर आर्थिक अभावले किन्न सकिएको छैन । सहयोग माग्दा पनि कुनै सुनुवाइ भएको छैन ।” स्थानीय सीपलाई आधुनिकीकरण गर्ने बहस चलिरहे पनि व्यवहारमा बेवास्ता भइरहेको गुनासो उनले गरे ।
सीपयुक्त दलित समुदायको पेसा संकटमा परेको भन्दै गङ्गाराम भन्छन्, “पुख्र्यौली सीप बोकेका युवाहरू भारतमा दरवान र कुल्लीको काम गर्न बाध्य छन्, सीप छ, तर सम्मान र सहयोग छैन।” उनी हाल सनबोरा नदी किनारको ऐलानी जमिनमा कच्ची घरमा बस्दै आएका छन्। “कमाएको पैसाले परिवार पालिन्छ, तर सुरक्षित घर बनाउन सकिएको छैन,” उनले दुखेसो गरे ।
राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले मेसिन अनुदान र सुरक्षित आवास कार्यक्रममार्फत दलित समुदायलाई आत्मनिर्भर बनाउने योजना ल्याउन सरकारसँग माग गरे । “गरी खाने समुदायलाई आयआर्जनमा जोड्ने कार्यक्रम ल्याउनुपर्छ,” उनले भने, “माग सम्बोधन नभए अधिकारका लागि संघर्ष गर्छौं।”
शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले दलित सीपको संरक्षण र व्यवसायीकरणका लागि वडा तथा नगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाए । “वडाको बजेटले नपुग्ने भएकाले संघ र प्रदेशसँग माग गर्छौं,” उनले भने, “गैरसरकारी संस्थासँग साझेदारीमा ११ दलित परिवारलाई सुरक्षित आवास दिइएको छ, बाँकीका लागि पनि पहल भइरहेकै छ।”