Ad Image

‘बुक फ्री फ्राइडे’ : सीप सिक्न तल्लीन छन् विद्यार्थी, बजेट र प्रशिक्षक अभावले तनावमा छन् प्रअ

User Image जनेश ठकुल्ला User Image राहुल कुमार ढकाल | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/news banner.jpg

गत जेठ ३० गते शुक्रबार बिहान ११ बजेको थियो । मेयरसाप डटकमका सहकर्मी साथी राहुलकुमार ढकाल र म काठमाडौंको कोटेश्वर सरस्वती माध्यमिक विद्यालय छिर्यौ । हामीले बुझ्नुपर्ने थियो– काठमाडौं महानगरपालिकाले आफ्ना सामुदायिक विद्यालयहरूमा लागू गरेको ‘बुक फ्री फ्राइडे’ मा विद्यालयहरूले विद्यार्थीहरूलाई के–के विषय कसरी सिकाउँदा रहेछन् ?

विद्यालयको गेटबाट छिर्ने बित्तिकै देख्यौं– केही विद्यार्थीहरू विद्यालयको आँगनमा साङ्गीतिक तालमा नृत्य प्रस्तुत गरिरहेका थिए । उनीहरूको नृत्य हेर्दै हामी विद्यालयका अन्य कोठाहरूतिर लम्कियौं । ‘फूलको आँखामा फूलै संसार...’ बोलका गीतमा विद्यार्थीहरूले भाका हालेर गीत गाइरहेको केही कोठाहरूबाट आवाज गुञ्जिरहेको थियो । सुनिरहुँ जस्तो लाग्यो ।

अर्को कोठामा चिहाएर हेर्दा विद्यार्थीहरू मोबाइल रिपेयरिङको ज्ञान बटुलिरहेका थिए । र, केही विद्यार्थीहरूको समूह स्काउटका गतिविधिमा अनुशासित रूपमा संलग्न थिए । किताब पल्टाएर शिक्षकले पढाएको सुनेर बसेको कतै देखिँदैनथ्यो ।

स्काउटको ज्ञान सिकिरहेका विद्यार्थीहरूलाई सोध्यौं– के–के सिकिरहनुभएको छ ?  उनीहरुले बताए– व्यावहारिक ज्ञान, आत्मविश्वास र अनुशासन ।

‘स्काउटको ड्रेस उपलब्ध गराउने भनेको कामनपाले आश मात्र देखायो–बजेट दिएन’ 
‘बु फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत स्काउटको फोकल शिक्षक कमला खनालले गुनासो सुनाइन्– ‘कामनपाले स्काउटको ड्रेस उपलब्ध नगराउँदा विद्यार्थीहरुलाई दीक्षित गर्न सकिएको छैन ।’

खनाल भन्छिन्, ‘हामी विद्यालयकै शिक्षक हौं । हामीलाई नै स्काउट सञ्चालनका लागि अघिल्लो वर्ष एडभान्स ट्रेनिङ दिइएको थियो । स्काउटका विद्यार्थीहरूलाई युनिफर्म महानगरले दिने भनेको थियो । तर आर्थिक वर्ष ०८०\०८१ को बजेट ढिलो आएकाले विद्यार्थीहरूले अहिलेसम्म युनिफर्म पाउन सकेका छैनन् ।’

उनका अनुसार स्काउटका विद्यार्थीहरू दीक्षित हुने तयारीमा छन् । आवश्यक प्रक्रिया पूरा भए पनि युनिफर्म नहुँदा दीक्षान्त समारोह सम्पन्न गर्न सकिएको छैन् ।

‘महानगरले चाँडो स्काउटको युनिफर्म उपलब्ध गराएमा दीक्षान्त समारोह सम्पन्न गरेर विद्यार्थीहरूलाई यो स्तरबाट माथिल्लो स्तरमा लैजान सजिलो हुने थियो,’ खनालले भनिन्, ‘अहिलेको अवस्था अनुसार अलिकति अफ्ठ्यारो भएको छ ।’
‘स्काउट विद्यामा विद्यार्थीलाई सिकाउने कोर्स तय गरिएको हुन्छ । विद्यार्थीलाई दीक्षित गर्नुपर्छ । एक पटकका विद्यार्थीहरू दीक्षित भइसकेका छन् र अहिले हामी उनीहरूलाई दोस्रो चरणको प्रशिक्षण दिइरहेका छौं’, स्काउटको अभ्यास गराइरहेकी खनालले थप जानकारी दिइन् ।

खनालका अनुसार पहिले स्काउट कार्यक्रम काठमाडौं महानगर अन्तर्गत थिएन । अहिले महानगर र काठमाडौं जिल्ला स्काउटको सहकार्यमा प्रत्येक विद्यालयमा स्काउट सञ्चालनमा आएको छ । विगतमा दीक्षित भएका विद्यार्थीहरू हाल कक्षा ११ र १२ मा पुगिसकेका छन् भने अहिलेका सहभागी विद्यार्थीहरू नयाँ छन् ।

‘अघिल्लो समयमा म विद्यालयको पठनपाठनपछि स्काउट सञ्चालन गर्थें,’ खनालले भनिन्, ‘महानगरले स्काउटलाई अन्य विद्याजस्तै समावेश गरेपछि अहिले म शुक्रबारको समय, यो कार्यक्रमका लागि मात्र छुट्याउने गर्छु ।’

स्काउटमा सहभागी भइसकेपछि विद्यार्थीहरूको व्यवहारमा सकारात्मक परिवर्तन आएको उनको अनुभव छ । ‘गेटभित्र पस्नेबित्तिकै उनीहरूको हिँडाइ, बोलाइ, अनुशासन सबैमा फरक देखिन्छ,’ उनले थपिन्, ‘स्काउटका विद्यार्थीहरूले साना भाइबहिनीलाई भर्याङमा हिँड्दा समेत कसरी हिँड्ने भनेर सिकाएका हुन्छन् । उनीहरू हरेक ठाउँमा आफूलाई फरक ढंगबाट प्रस्तुत गर्छन् ।’

सुरुमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई स्काउटमा सहभागी गराइँदो रहेछ । स्काउटमा कसलाई सहभागी गराउने भन्ने निर्णय विद्यालयका प्रधानाध्यापक र विद्यार्थीका अभिभावकहरूसँग सल्लाह गरेर मात्रै लिइने रहेछ ।

स्काउटको तालिमले विद्यार्थी पनि दंग छन् । कक्षा ९ मा अध्ययनरत स्काउटका छात्र दीपक सिंह भन्छन्, ‘सिकाउने म्याम पनि रमाइलो हुनुहुन्छ, साथीहरू पनि रमाइला छन् । सुरुमा थेउरी क्लास हुन्छ, त्यसपछि प्रायाक्टिकल क्लास गरिन्छ ।’ अनुशासित बन्ने, नराम्रो व्यवहार नगर्ने र पढाइमा फोकस गर्नुपर्ने कुराहरू पनि स्काउटमार्फत सिकेको सिंह बताउँछन् ।

मोबाइल रिपेयरिङको तालिमः थेउरीभन्दा प्राक्टिकलमा बढी जोड
कोटेश्वर सरस्वती माविमै शुक्रबार मोबाइल ट्रेनिङ पनि सिकाइएको रहेछ । मोबाइल रिपेरिङको सीप सिकाइरहेकी ट्रेनर श्रद्धा वाग्लेका अनुसार विद्यार्थीहरूलाई दिइने तालिममा २० प्रतिशत थेउरी र ८० प्रतिशत प्राक्टिकललाई प्राथमिकता दिइएको रहेछ ।

‘मोबाइल रिपेरिङ टेक्निकल फिल्ड हो र विद्यार्थीहरूका लागि नयाँ विषय भएकाले यस समूहमा धेरैको सहभागिता देखिएको छ,’ श्रद्धाले भनिन् ।

श्रद्धाका अनुसार प्रत्येक शुक्रबार विद्यार्थीहरू आफ्ना घरपरिवार वा आफन्तको बिग्रिएको मोबाइल लिएर आउने गर्छन् । त्यो मोबाइलमा आएको समस्या उनीहरूले प्रशिक्षकलाई देखाउँछन् । त्यसपछि प्रशिक्षकले त्यो समस्या विद्यार्थीहरूकै सामु समाधान गरेर व्यवहारिक अभ्यास गराउने गर्छन् । यसरी विद्यार्थीहरूले ल्याएको मोबाइलको मर्मत पनि हुने गरेको छ ।

‘पहिलो पटक यस्तो सीप सिक्ने अवसर पाएकोमा खुसी छु,’ कक्षा १० का चन्दन मण्डल भन्छन्, ‘पढाइसँगै सीप सिक्न पाउँदा नयाँ अनुभव भएको छ ।’ चन्दन अगाडि भन्छन्, ‘पहिल्यै मोबाइल पसल खोल्ने सोच थियो, तालिमले त्यो इच्छालाई झनै सहज बनाइदिएको छ ।’

कक्षा १० का अनुपम आनन्द साह पनि मोबाइल रिपेरिङ विद्यालयमै सिक्न पाउँदा खुसी छन् । ‘यो तालिम मलाई धेरै राम्रो लागेको छ,’ उनी भन्छन्, ‘प्रविधिको युगमा मोबाइल रिपेयरिङजस्तो सीप सिक्नु भविष्यमा राम्रो हुन्छ ।’

१० कक्षामा अध्ययनरत छात्र देतराज चौहान भन्छन्, ‘किताब मात्र पढेर हुँदैन, बाहिरी कुराहरू पनि सिक्नुपर्छ । किताब पढेर डाक्टर वा अन्य पेसामा जान सकिन्छ, तर कुनै पदमा जागिर खान नसके पनि विद्यालयमै यस्ता सीपहरू सिकेर भविष्यमा आफ्नै व्यवसाय गर्न सकिन्छ । विदेश नगइकन पनि नेपालमै बसेर मन लागेको काम गरेर आत्मनिर्भर बन्न सकिन्छ ।’

महानगरको अगुगमन नहुँदा सीप सिकाइको प्रभावकारितामा आशंका
कोटेश्वर सरस्वती माध्यमिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम २०८० बाटै सुरू भएको हो । विद्यालयका प्रधानाध्यापक पुष्पराज कुँवरका अनुसार महानगरबाट आएका ‘एक्सपर्ट’हरूले २०८० बाटै विद्यालयमा सीपमूलक शिक्षणको थालनी गरेका थिए । सुरुमा समूहको संख्या कम भए पनि हाल १६ प्रकारका समूहहरू यो विद्यालयमा सञ्चालनमा छन् । हरेक समूहमा एक फोकल शिक्षक र ३० जना विद्यार्थी हुन्छन् । महानगरबाट छानिएका एक्सपर्ट शिक्षक पालैपालो शिक्षणमा खटिन्छन् । शुक्रबार ९० मिनेट हुने यो कार्यक्रममा विद्यार्थीले कुनै न कुनै सीप सिक्ने अवसर पाउँछन् । शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म सिकाइ कार्यक्रम र त्यसपछि एक घण्टा समीक्षा तथा तयारीको समय राखिएको छ ।

प्राधानाध्यापक कुँवरका अनुसार प्लम्बिङ विद्यामा विद्यार्थीहरू नजिकको कारखानामा गई उपकरणहरूको प्रयोग सिक्छन् र साना–साना काम गर्न सक्ने क्षमता हासिल गर्छन् । मोबाइल मर्मत, इलेक्ट्रोनिक्स, फेसन डिजाइन, ब्युटिसियन जस्ता अन्य विद्यामा पनि विद्यार्थीको रुचि उच्च देखिएको छ । सीप सिकेपछि उनीहरूमा थप उर्जा देखिन थालेको कुँवरको अनुभव छ । यद्यपि, कार्यक्रमको अनुगमन भने कमजोर देखिएको छ । विद्यालयले आफ्नै पहलमा अनुगमन गरिरहेको भए पनि महानगरले स्थलगत अनुगमन गर्न नसकेको कुँवरको गुनासो छ ।

बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालन गर्न कोठाको अभावले कतिपय गतिविधि मैदान वा पार्टी प्यालेसमा सञ्चालन गर्नुपरेको गुनासो विद्यालय प्रशासनको छ । अझ विद्यार्थीहरुलाई सुरुमा इच्छाअनुसारको सीप सिक्ने विद्या रोज्न दिइए पनि पछि भर्ना भएका विद्यार्थीले विद्या रोज्न पाउने अवस्था यो विद्यालयमा छैन । उनीहरुलाई कम संख्या भएका समूहमा लगेर मिसाइन्छ ।
विद्यालयमा पठाइने एक्सपर्ट प्रशिक्षकलाई अग्रिम भुक्तानी दिनुपर्ने भए पनि समयमै बजेट निकासा नहुँदा त्यसो गर्न कठिन भएको शिक्षकहरूको गुनासो छ ।

केही सीपमूलक कार्यक्रममा ४–५ लाख रुपैयाँसम्मको बजेट छुट्याइएको भए पनि अन्य थुप्रै कार्यक्रमहरूमा ५० हजार रुपैयाँ मात्र छुट्याइएको हुँदा दक्ष प्रशिक्षक भित्र्र्याउन विद्यालयलाई समस्या छ । एक दिनको तालिमका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले भुक्तानी दिने व्यवस्था गरिएको भए पनि त्यो दर न्यून भएकाले स्रोत व्यवस्थापनमा थप चुनौती सिर्जना भएको फोकल शिक्षकहरू बताउँछन् ।

त्यस्तै, फोकल शिक्षकलाई प्रोत्साहनस्वरूप दिइनुपर्ने इन्सेन्टिभको अभावले पनि कार्यक्रमप्रतिको उनीहरूको उत्साहमा कमी आएको छ । प्राधानाध्यापक कुँवर भन्छन्, ‘नेपाल सरकार वा एनजीओ–आईएनजीओले आयोजना गर्ने तालिममा सहभागी हुन शिक्षकहरू उत्साहित देखिन्छन्, तर “बुक फ्री फ्राइडे” मा त्यो उत्साह देखिन्न ।’

फोकल शिक्षकहरू विषयगत विज्ञ नहुनु, सबै विद्याका लागि आवश्यक दक्ष जनशक्ति तयार नहुनु पनि अर्को समस्या भएको कुँवरको भनाइ छ । ‘महानगरले विद्यालयभित्रैका शिक्षकलाई फोकल शिक्षक बनाएको छ, तर न पदपूर्ति गरिएको छ, न त बाहिरबाट दक्ष जनशक्ति ल्याइएको छ,’ उनी भन्छन्, ‘यसले शिक्षकहरूलाई नियमित पठनपाठनमा असर पुगेको छ ।’

रत्नराज्यमा विद्यार्थीको चाप नै बढी
गत जेठ ६ गते शुक्रबार बिहान ११ बजे हामी बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय पुग्यौं । विद्यार्थीहरू स्कुलको प्राङ्गणमै मिस्त्रीका उपकरण समाएर प्रयोगात्मक तालिममा व्यस्त देखिन्थे । कसैले जस्तापाता काटिरहेका थिए, कसैले काठको टुक्राको नाप लिइरहेका थिए ।

त्यसपछि हामी ‘स्टिम’ कक्षामा छिर्यौ । कक्षामा छिर्दा बालबालिकाको उत्साहपूर्ण सहभागिता देखेर हामी प्रभावित भयौं । विद्यार्थीहरू विभिन्न वैज्ञानिक अवधारणालाई प्रयोगात्मक ढंगले बुझ्न र सिक्न प्रयास गरिरहेका थिए ।

स्टिम कक्षा पनि बुक फ्री फ्राइडे कार्यक्रम अन्तर्गत एक उपसमूह हो । विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणित सम्बन्धी सीपहरू यो समूहमा सिकाइन्छ । यहाँ रोबटिक, एआई, इञ्जिनियरिङलगायतका ज्ञान सिकाइएको थियो । यो उपसमूहका फोकल शिक्षक थिए डिल्लीराज ज्ञवाली ।

ज्ञवालीका अनुसार स्टिम कक्षामा विद्यार्थीको संख्या धेरै भएकाले व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । १३ विद्याहरू बनाउँदा पनि स्टिम कक्षामा सबैभन्दा धेरै विद्यार्थीहरू छन् । सामान व्यवस्थापन गर्न र विद्यार्थीलाई मिलाउन एकदमै गाह्रो भएको छ । ‘अनुगमन गर्न महानगरबाट पनि आउने गरेका छन् । विद्यालय तहबाट पनि अनुगमन गर्दा स्टिम कक्षा राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्’, ज्ञवाली भन्छन्, ‘बुक फ्री फ्राइडे कार्यक्रम एकदमै राम्रो छ ।’

रत्नराज्यमा कक्षा ७ मा अध्ययनरत आलोक आचार्य ‘थ्रिडी मोडल अफ क्विज प्रोजेक्ट’ बनाउँदै थिए । आफूले क्विज प्रोजेक्ट लगायत अन्य प्रोजेक्ट पनि धेरै बनाएको उनी बताउँछन् । बुवाआमा पनि आफ्नो यो सिकाइबाट खुसी भएको उनी सुनाउँछन् ।

कक्षा ९ मा अध्ययनरत आर्दश अधिकारी ट्रयाक्टर बनाउँदै थिए । खेतबारी जोत्ने, बिऊ छर्ने र रोप्ने ट्रयाक्टर र यसका उपकरण बनाउन उनी लागिपरेका छन् ।

हामी ब्युटिसियन तालिम सञ्चालन भइरहेको कक्षामा छिर्यौ । त्यहाँ कसैले हेयरकट त कसैले मेहन्दीको डिजाइन गर्दै थिए । रत्नराज्यमा ब्युटिसीयनको सीप सिकाइरहेकी ट्रेनर सुमीना मानन्धरले ब्युटिसीयन तालिम दिन थालेको १२ वर्ष भयो । उनी ब्युटिसीयन भएको १७ वर्ष भयो ।

उनले सीटिइभिटिइबाट ‘लेभल ओन र लेभल टु’ पास गरेपछि ब्युटिसीयनको ट्रेनरको रूपमा काम गर्न थालेकी हुन् । उनी यो विद्यालयमा ब्युटिसीयनको ट्रेनरको रूपमा आएको ३ वर्ष भयो । यो विद्यालयमा क्लिनजिङ, हेयर वायल, मसाज, मेहन्दी र हेयर कटिङ लगायत १२ वटा टाक्सहरू सिकाउँदै आइरहेको उनी बताउँछिन् ।

कक्षा १० मा अध्ययनरत छात्रा अंशु खुस्वाह ब्युटिसीयन सम्बन्धी तालिम सिक्दै आइरहेकी छिन् । उनी भन्छिन्, ‘बच्चादेखि यो फिल्डमा मलाई इच्छा थियो । महानगरले विद्यालयमा यस्ता सीप सिकाएर धेरै राम्रो काम गरेको छ । मैले धेरै कुरा सिक्न पाएँ । सोचेभन्दा पनि बढी राम्रो भएको छ । सानैदेखि आफूलाई मन परेको सीप सिक्न पाएँ । भविष्यमा काम लाग्छ होला । आफ्नै देशमा बस्ने, यही फिल्डमा काम गर्ने मेरो इच्छा छ ।’

कक्षा १० मै अध्ययनरत अर्की छात्रा बिना पौडेल ब्युटिसीयन तालिम लिँन पाउँदा खुसी लागेको बताउँछिन् । उनी भन्छिन्, ‘अब हामीले स्कुल लेभलमा पढाइ मात्रै होइन, पढाइसँगै व्यावहारिक रूपमा कुनै सीप पनि सिक्नुपर्छ । किताबी ज्ञानले मात्र जीवन अघि बढ्दैन । हामीसँग कुनै पनि सीप छैन भने, चाहे ब्याचलर वा पीएचडी गरे पनि त्यो सर्टिफिकेट सिरानीमा राखेर सुत्नुपर्ने अवस्था आउन सक्छ ।’

रत्नराज्य माध्यमिक विद्यालयका प्राधानाध्यापक रामाषिश यादव रहेछन् । उनी २०५६ सालमा गणित र विज्ञान विषय पढाउने शिक्षकको रूपमा यो विद्यालयमा हाजिर भएका थिए । पछि उनी रत्नराज्यको प्राधानाध्यापक बने ।

‘नयाँ कार्यक्रम भएकाले सुरुवातमा केही कठिनाइहरू थिए । विद्यार्थीहरूको संख्या धेरै भएकाले व्यवस्थापन गर्न चुनौतीपूर्ण थियो,’ प्रअ यादवले भने, ‘तर अहिले ती समस्या समाधान हुँदै गएका छन् ।’ उनले अगाडी थपे, ‘बुक फ्री फ्राइडे कार्यक्रमले विद्यार्थीहरूमा सीप विकास गराएको छ । विद्यार्थीहरू रमाइलो गर्दै, उत्साहपूर्वक सिकिरहेका छन् । हप्ताको पाँच दिन किताब बोकेर स्कुल आउने विद्यार्थीहरू शुक्रबार किताब नबोकी आउन उत्साहित हुन्छन् ।’

रत्नराज्य स्कुलमा हाल २५\२६ वटा उपसमूहहरू सञ्चालनमा छन् । कक्षा ४ देखि ८ सम्म ‘बुक फ्री फ्राइडे’ लागू गरिएको छ भने कक्षा ९ मा सीपमूलक तालिम सञ्चालन भइरहेको छ । शुक्रबार ९० घण्टासम्मका तालिमहरूमा विद्यार्थीहरू सहभागी हुने गर्छन् । प्रत्येक समूहमा फोकल शिक्षकहरू तोकिएका छन् भने कतिपय विद्यामा प्राविधिक प्रशिक्षकहरू पनि राखिएका छन् ।

‘खाडी मुलुकमा गएर महिनाको ५०–६० हजारभन्दा बढी कमाउन सकिँदैन,’ प्राधानाध्यापक यादवले भने, ‘तर यस्ता सीपमूलक तालिमले नेपालमै बसेर महिनामा एक लाखसम्म आम्दानी गर्न सकिने सम्भावना देखिन्छ ।’

पढाइबिनाको शुक्रबार : सीप र सिर्जनाको नयाँ अभ्यास
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा लागू गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमले शिक्षामा नविन अभ्यासको थालनी गरेको छ । २०८० सालबाट कक्षा १ देखि १० सम्म लागू गरिएको कार्यक्रमले हाजिरी जवाफ, कविता लेखन, खाना पकाउने, चित्र बनाउने, सिलाईकटाई, गमला सजावट, मकै भुट्ने जस्ता जीवनोपयोगी क्रियाकलापमा विद्यार्थीलाई संलग्न गराइरहेको छ । यो कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न, व्यवहारिक ज्ञान वृद्धि गर्न र शिक्षालाई रोचक बनाउन उल्लेखनीय भूमिका खेलेको छ ।

‘बुक फ्री फ्राइडे’ कार्यक्रमले विद्यार्थीको रुचि, क्षमता र तहअनुसार व्यवहारिक सिकाइलाई प्राथमिकता दिएको छ । शिक्षा अधिकृत तथा कार्यक्रमका फोकल पर्सन केशव ज्ञवालीका अनुसार कक्षा १ देखि ९ सम्म तीन तहमा यो कार्यक्रम लागू गरिएको छ ।

कक्षा १ देखि ३ सम्म प्रारम्भिक एकीकृत पाठ्यक्रमलाई व्यवहारमा उतार्ने उद्देश्यसहित सिर्जनात्मक क्रियाकलाप गरिन्छ । कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई २५ वटा उपसमूहमा विभाजन गरी उनीहरूको चाहना अनुसार नेतृत्व, नृत्य, स्काउट, ट्राफिक, योग, ड्रोन, सम्पदा संरक्षणजस्ता क्षेत्रमा सहभागिता गराइन्छ ।

कक्षा ९ मा ‘शिक्षामा सीप’ अवधारणा अन्तर्गत कृषि, शहरी खेती, सौन्दर्य, काष्ठकला, इलेक्ट्रोनिक्स, पाककला, चित्रकला, सिलाईकटाईजस्ता सीपमूलक प्रशिक्षण दिइन्छ । विद्यार्थीको प्रतिभा उजागर गर्न उनीहरूलाई एक वर्षभित्र ७५ देखि ९० घण्टा सम्मको अभ्यासमा संलग्न गरिन्छ ।

पाठ्यक्रमले निर्धारण गरेको सीपमूलक शिक्षा विद्यालय तहमा कार्यान्वयनमा चुनौती रहे पनि यो कार्यक्रमले श्रमप्रति सम्मान, जीवनोपयोगी सीप सिकाइ र सिर्जनशीलता विकास गर्न सघाएको ज्ञवाली बताउँछन् । 

‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूमा फोकल शिक्षक तोकिएका छन् । अधिकांश त्यस्ता शिक्षकलाई सामान्य तालिम दिइए पनि औपचारिक प्रशिक्षण भने दिइएको छैन । उनीहरूलाई सहायक प्रशिक्षकको रूपमा उपयोग गर्न तालिम दिने योजना महानगरपालिकाको रहेको ज्ञवाली बताउँछन् ।

‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालनका लागि ७५ घण्टाका विद्यार्थीहरुलाई के के सिकाउने भन्ने मस्यौदा तयार भए पनि सरकारले पाठ्यक्रमकै रुपमा भने लागू गरेको छैन । पाठ्यक्रम विकास केन्द्र, सांस्कृतिक संस्थान र विश्वविद्यालयका विज्ञहरूको सहयोगमा तयार गरिएको मस्यौदालाई संस्थागत रूपमा प्रकाशित गर्न बाँकी रहेको ज्ञवाली बताउँछन् ।

विद्यार्थीले यो कार्यक्रममा सिकेको सीप परीक्षामा जोडिएको छैन । यसको मूल्यांकन गरेर प्रमाणपत्र पनि दिइएको छैन । तर ज्ञवाली प्रशिक्षक शिक्षकहरूले विद्यार्थीको नियमित मूल्यांकन गर्ने दावी गर्छन् । मूल्यांकन विद्यार्थीले कति चाँडो उक्त सीप सिक्यो भन्ने बुझेर सिके–नसिकेको शिक्षकहरुले जानकारी लिने रहेछन् ।