ठूलो परिमाणमा ट्रामाडोल बाेकेका अटो चालक हेटौंडामा पक्राउ
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते २०:२६
मकवानपुर । लागूऔषध रोकथाम तथा नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाउँदै आएको नेपाल प्रहरीले हेटौंडामा ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित एक अटो चालकलाई पक्राउ गरेको छ। आज बिहान ११:३० बजे, राप्तिरोड हुँदै थानाभर्याङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ह ०१२६** नम्बरको अटो प्रहरीले देख्नेबित्तिकै तीव्र गतिमा भाग्न खोजेपछि प्रहरी टोलीले पछ्याएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले अटोलाई पछ्याउँदै जाँदा हेटौंडा उपमहानगरपालिका–१, तरकारी बजार क्षेत्रमा फेला पारेको हो।
नियमित जाँच तथा अनुसन्धानका क्रममा अटो चालक हेटौंडा–१३ बस्ने करिब २७ वर्षीय सोनम मोक्तानलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अटो भित्र लुकाएर राखेकाे १५ हजार ९६० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका मोक्तानमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराका अनुसार बरामद गरिएको ट्रामाडोल अत्यधिक मात्रा भएकाले यो घटना संगठित कारोबारी समूहसँग सम्बन्धित रहेको प्रारम्भिक अनुमान गरिएको छ। बाेहाेराका अनुसार याे घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान तीब्र रूपमा अगाडि बढाइएकाे छ ।
करिब १५ दिनअघि पनि ८,३०० क्याप्सुल ट्रामाडोलसहित पाँच जना पक्राउ परेकाे घटनालाई स्मरण गर्दै एसपी बोहोराले मकवानपुरमा लागूऔषध तस्करी सक्रिय बन्दै गएको बताए। मकवानपुर प्रहरीले पछिल्लो समय लागूऔषध काराेबारीलाई तीब्र निगरानी र श्रृंखलाबद्ध चेकजाँच तथा गोप्य अपरेसन सञ्चालन गरिरहेको छ।
Facebook Comments