सैनिक हत्या प्रकरणले अमेरिकामा असर: अफगान नागरिकको आप्रवासन प्रक्रिया स्थगित

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते २१:०८
Image of https://mayorsap.com/storage/photos/shares/afaganistan-citizen-pass-cut-off-in-america.png

एजेन्सी । ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिककाे गाेली हानी हत्या भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान नागरिकलाई प्रमुख संदिग्धका रूपमा आरोपित गरेका छन्।

राष्ट्रपति ट्रम्पले बिहीबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत तालिबान शासन पतनपछि २०२१ मा अमेरिकी निकासी उडानमार्फत अमेरिका प्रवेश गरेका एक अफगान नागरिक घटनामा संलग्न भएको दाबी गरेका हुन्। उनले उक्त गोलीकाण्डलाई “राष्ट्रविरुद्ध लक्षित दुष्ट र घृणित आक्रमण” भनेका छन्।

राजनीतिक विवाद पुनः चर्कियो

घटना सार्वजनिक भएपछि ट्रम्प प्रशासनको सैन्य तैनाथी, आप्रवासन नीतिमा कडाइ, र अफगानिस्तान युद्धपछिको अमेरिकी भूमिकाबारे पुनः बहस सुरू भएको छ।
ट्रम्पले डेमोक्रेटहरू नेतृत्वमा रहेका सहरहरूमा तैनाथ सैनिकहरूलाई लक्षित गर्दै आफ्नो आलोचना दोहोर्‍याएका छन्। उनले “अवैध आप्रवासी उखेल्ने अभियान पुनः तीव्र गरिने” संकेत पनि दिएका छन्।

यसैबीच, युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेस (USCIS) ले घटनामा संलग्न अफगान नागरिकको छानबिन पूरा नहुन्जेल अफगान नागरिकसम्बन्धी सबै आप्रवासन प्रक्रियाहरू अनिश्चितकालका लागि रोकिएको घोषणा गरेको छ।

घटना ‘एम्बुस’ शैलीको

वासिङ्गटनका सहायक प्रहरी प्रमुख जेफ्री क्यारोलका अनुसार आक्रमण पूर्वनियोजित ‘एम्बुस शैली’को थियो। प्रत्यक्षदर्शीहरूले मेट्रो स्टेशन नजिकै अकस्मात धेरै राउण्ड गोली चलेको, सर्वसाधारण तितरबितर भागिरहेको, र केही नेसनल गार्ड सदस्यहरू हतियारसहित प्रतिक्रिया दिँदै मेट्रोतर्फ दौडिएको बताएका छन्।

एफबीआई निर्देशक कास पटेलले दुवै सैनिक गम्भीर घाइते भएको पुष्टि गरेका थिए। घटनापछिका तस्बिरमा सुरक्षाकर्मीले सबै क्षेत्र घेराबन्दी गरेका, हेलिकप्टरमार्फत आकाशीय निगरानी चलाइरहेकाे, र आपतकालीन टोलीले घाइते सैनिकलाई एम्बुलेन्सतर्फ लैजाँदै गरेको दृश्य देखिन्थ्यो।

अफगान शरणार्थीहरूको सहायतामा सक्रिय समूह ‘अफगानइभाक’ ले एक व्यक्तिको हिंसात्मक कार्यलाई सम्पूर्ण समुदाय लान्छना लगाउन नहुने बताएकाे छ । समूहले अमेरिका आउने प्रत्येक अफगान शरणार्थी कडाइका साथ सुरक्षा जाँच पार गर्दै आएको पनि जनाएको छ।

राजधानीमा सुरक्षा बल थप

गत हप्ता मात्र एक सङ्घीय न्यायाधीशले वासिङ्गटनमा नेसनल गार्डको तैनाथी गैरकानूनी ठहर गरे पनि बुधवारको घटनापछि रक्षामन्त्री पिट हेग्सेथले थप ५०० सैनिक तैनाथ गर्ने घोषणा गरेका छन्। यससँगै राजधानीमा परिचालन भएका सैनिकहरूको संख्या २ हजार ५०० पुगेको छ।


Facebook Comments