रुम्टामा लिफ्टमार्फत खानेपानीकाे पहुँच, उजाड गाउँमा फर्कियो हरियाली

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/0-0-0-0.jpg

बागलुङ । वर्षौंदेखि खानेपानीको चरम अभावमा रहेको बागलुङ नगरपालिका–१२ का दुई गाउँ रुम्टा र धोलेचौरमा अहिले लिफ्ट प्रविधिबाट घरघरमा धारा पुगेको छ ।

केही महिना अघिसम्म पानी बोकेर ल्याउन बाध्य रुम्टा गाउँकी चित्रदेवी सापकोटा अब घरमै धारा बग्दा दङ्ग छिन् । “चार बजे उठेर गाग्रीको लाइन लाग्नुपथ्र्यो, अब त घरमै पानी आउँछ,” उनले भनिन् । उनका अनुसार खानेपानीकै अभावले भारत बस्दै आएका थिए, तर अहिले गाउँ फर्किएका छन् ।

रुम्टाको बस्ती तलको गहिरो ‘जोत्ने’ स्थानमा रहेको मुहानबाट १०० मिटर माथिसम्म लिफ्ट प्रविधिबाट पानी तानेर १६ घरमा खानेपानी पुर्याइएको हो । रु ३० लाखको लागतमा सम्पन्न योजनाबाट अहिले बस्तीमा बसाइँ फर्किने क्रमसमेत सुरु भएको छ ।

योजनाको नेतृत्व लिँदै २२ वर्षपछि बजार छाडेर गाउँ फर्किएका उपभोक्ता समिति अध्यक्ष यदुनाथ सापकोटा भन्छन्, “अब खानेपानी बोक्ने दिन सकियो। रुम्टा पनि नगरपालिकाभित्रको विकसित वडाको रूपमा अगाडि बढ्छ।”

त्यस्तै, अमलाचौरको धोलेचौर गाउँमा ३० घरलाई लक्षित गरेर लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । खोल्सीधारा मुहानबाट करिब १०० मिटर उचाइमा पानी तानेर आगामी आर्थिक वर्षको सुरुमै घरघरमा धारा पुर्याउने लक्ष्य राखिएको छ ।

दुवै योजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको संयुक्त लगानीमा निर्माण भइरहेको छ । धोलेचौर योजनामा रु ३२ लाख खर्च हुने अनुमान गरिएको छ । हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर सागर अधिकारीले जानकारी दिए ।

स्थानीय डिलबहादुर सापकोटा भन्छन्, “अहिलेको युगमा पनि पानी बोकेर ल्याउनु पथ्र्यो, अब त्यो समस्या अन्त्य भएको छ।”

लिफ्ट प्रविधिको प्रयोगले दुर्गम र उचाइमा रहेका बस्तीहरूमा पनि आधारभूत सेवा पुर्याउन सकिने सम्भावना देखिएको छ । यो आयोजनाले मात्रै होइन, गाउँको भविष्यमा आशाको पानी पनि बगाएको छ ।


Facebook Comments