स्याङ्जाको कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती सुरु


स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानहरूले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन् । स्थानीय पालिका र हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ’कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना’ अन्तर्गत सातै वडामा अकबरे खुर्सानीको खेती विस्तार गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार यो अभियानले कृषकको आर्थिक उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । “कालीगण्डकीका विभिन्न स्थानमा ठूलो परिमाणमा अकबरे खुर्सानी उत्पादन हुँदैछ,” उनले भने, “कृषकले उत्पादन गरेको खुर्सानीको बजारीकरणको जिम्मा गाउँपालिकाले लिनेछ, जसले थप प्रेरणा मिल्नेछ।”
परियोजना अन्तर्गत अकबरे खुर्सानीको न्यूनतम बजार मूल्य रु २२५ प्रति केजी तोकिएको छ । उत्पादनको समयमा बजारको मूल्यअनुसार थप समायोजन गरिने जानकारी दिइएको छ ।
परियोजनाका बजार सहजकर्ता मुक्ति पाण्डेका अनुसार पालिकाका पाँच स्थानमा उत्पादन गरिएका एक लाख ८३ हजार ३०० बेर्ना १३० जना भन्दा बढी किसानलाई निःशुल्क वितरण गरिएको छ । “कृषकलाई बेर्नासँगै मल्चिङ प्लास्टिक र प्राविधिक सहयोगसमेत निःशुल्क दिइएको छ,” पाण्डेले भने, “दशैँसम्ममा उत्पादन लिन सकिनेछ।”
कालीगण्डकी–१ किपटका कृषक पृथ सिञ्जाली मगरले यस वर्ष १० रोपनी क्षेत्रफलमा आठ हजार अकबरे बेर्ना लगाएको जानकारी दिए । सिँचाइको सुविधा सशक्त नभए पनि क्षेत्रीय भौगोलिक अनुकूलता र बजार सम्भावनाले व्यावसायिक खेतीतर्फ उन्मुख भएको उनले बताए ।
“पहिले घरायसी प्रयोजनका लागि लगाइएको अकबरेको उत्पादन राम्रो भएकोले व्यावसायिक विस्तार सहज भएको छ,” सिञ्जालीले भने, “बजार खोज्न नपर्ने र न्यूनतम मूल्य ग्यारेन्टी भएकोले हामी उत्साहित छौं।”
यसरी पालिकास्तरमा सहजीकरण र मूल्य सुनिश्चितता गरिएको व्यावसायिक अकबरेखेतीले किसानमा आत्मविश्वास बढाएको छ । स्थानीय उत्पादनलाई बजारीकरणसहित जोड्ने प्रयासले कालीगण्डकीलाई खुर्सानी उत्पादनको नयाँ केन्द्र बनाउने अपेक्षा गरिएको छ ।