ढोरपाटनको बुकीपाटन पदयात्राका लागि नयाँ गन्तव्य

काठमाडौं । बागलुङको ढोरपाटनस्थित बुकीपाटन अहिले पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । पाँच वर्षअघिसम्म गोठालाको मात्र बसोबास हुने यो उच्च पहाडी क्षेत्र (३,००० देखि ४,५०० मिटर उचाइ) मा अहिले पर्यटकको चहलपहल बढेको छ ।
सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्रचारप्रसारले बुकीपाटनको आकर्षण बढेको स्थानीयहरू बताउँछन् । यो याम (असारदेखि असोज) पदयात्राका लागि बढी उपयुक्त मानिन्छ, किनभने यसबेला यहाँको प्राकृतिक सुन्दरता चरममा हुन्छ । पर्यटकहरूले नजिकैबाट दर्जनौँ हिमशृङ्खला, गोठाले जीवन र मनमोहक दृश्यहरूको अनुभव गर्न पाउँछन् ।
ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने बुकीपाटनमा दैनिक ५० जनासम्म युवा पुग्ने गरेको स्थानीय गुनबहादुर बुढामगरले जानकारी दिए । चितवनबाट आएका रेवनकुमार शाक्यजस्ता पर्यटकहरू गर्मी छल्न र शीतलताका लागि यहाँ आउने गरेका छन् ।
गण्डकी प्रदेश सरकारले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासमा जोड दिएको छ । चालू आर्थिक वर्षमा विनियोजन गरिएको २० लाख रुपैयाँबाट ढोरपाटन नगरपालिका–९ पाखाथरबाट गर्पाछेडासम्मको ५ किलोमिटर पदमार्ग र विभिन्न ठाउँमा काठेपुल निर्माण गरिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार आगामी दिनमा अन्य संरचना थप्दै जाने योजना छ । यो क्षेत्र नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ ।