सरकारले दिन गनेर होइन, योजना बनाएर काम गरोस् : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई दिन गनेर बस्नुको सट्टा एक वर्षभित्र के–के काम गर्ने भन्ने स्पष्ट योजना बनाएर अघि बढ्न सुझाएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक वर्षपछि कांग्रेसलाई सत्ता दिन्छु भन्ने भन्दा पनि एक वर्षमा यो–यो काम गर्छु र यसबाट मुलुकलाई यो–यो फाइदा हुन्छ भनेर देखाउनुपर्ने बताए ।
थापाले सरकारसँग उद्योग होइन, उद्यमशील सोच हुनुपर्नेमा जोड दिए । उनले कांग्रेसले पनि २०८४ को चुनावअघि सरकारमा गएपछि के गर्ने वा नगर्ने भन्नेबारे जनतालाई जानकारी दिन प्रशिक्षण चलाउने तयारी गरिरहेको बताए ।
विरोधको राजनीति सजिलो भए पनि काम गरेर परिणाम दिन गाह्रो हुने उनको भनाइ थियो । थापाले पछिल्लो समय क्रयशक्ति र माग बढे पनि मुलुकमा उत्पादनले नधानेको भन्दै उत्पादन बढाउने गरी योजना ल्याउनु आवश्यक रहेको औंल्याए ।