Ad Image

बझाङमा बाढी-पहिरोको वितण्डा : घर र मन्दिर पुरिए, अन्नपातसमेत नष्ट

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bajhang bungal badhi.jpg

काठमाडौं । बझाङको बुंगल नगरपालिका–७ मा शनिवार राति वर्षापछि आएको बाढी र पहिरोले भौतिक संरचनामा व्यापक क्षति पुर्याएको छ ।

नगरपालिकाका उपमेयर धनबहादुर बोहराका अनुसार, घट्ठे खोलामा आएको बाढीले स्थानीयका घर, पानी घट्ट, सिँचाइ कुलो र मन्दिरमा क्षति पुगेको छ । यद्यपि, कुनै मानवीय क्षति भने भएको छैन ।

रातभरिको वर्षाका कारण खोलाको मुहानबाट खसेको पहिरो पानीसँग मिसिएर लेदो बनेर बग्दा स्थानीय कृष्णराज जोशीको घर पूर्ण रूपमा पुरिएको छ ।

यस्तै, डिला लोहार र ओकिल लोहारको घर, शौचालय र धान कुट्ने मिलमा पनि क्षति पुगेको छ भने उनीहरूको अन्नपातसमेत नष्ट भएको छ ।

बाढीले ६ वटा पानी घट्ट, तिनका कुलोहरू र करिब आठ वटा सिँचाइ कुलो पूर्ण रूपमा बगाएको छ । वडाध्यक्ष टंकप्रसाद जोशीको पसलभित्र बाढीको लेदो पसेको छ भने स्थानीयको आस्थाको केन्द्रको रूपमा रहेको दहजार मन्दिरको परिसर पनि लेदोले ढाकिएको छ ।

उपमेयर बोहराले बुंगल नगरपालिका बाढी र पहिरो दुवैको हिसाबले उच्च जोखिममा रहेको बताए । नगरपालिकाले अहिले उद्धारका लागि टोली परिचालन गर्ने तयारी गरिरहेको छ ।