Ad Image

कलैया उपमहानगरद्वारा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको योजना

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kalaiya upamahanagar.jpg

वीरगञ्ज । कलैया उपमहानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक स्तर सुधार गर्न चालु आर्थिक वर्षमा विशेष योजना कार्यान्वयन गर्ने भएको छ । गत वर्षको एसईई नतिजा खस्किएपछि उपमहानगरले यो कदम चालेको हो ।

आज वीरगञ्जमा आयोजित ‘शिक्षा नीति संवाद’ कार्यक्रममा उपमहानगर प्रमुख विनोदप्रसाद साहले २०८२ सम्म सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहकार्य जरुरी रहेको बताए ।

प्रमुख साहले सामुदायिक विद्यालयमा विद्यार्थीको अत्यधिक अनुपस्थिति दर चिन्ताजनक रहेको र यसलाई कम गर्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिए । उनले उपमहानगरभित्रका २० वटा माध्यमिक विद्यालयमध्ये अधिकांशमा मावि तहका शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको गुनासो गरे ।

उपमहानगर शिक्षा महाशाखा प्रमुख राजिवकुमार यादवका अनुसार, कलैयामा ७१ वटा सामुदायिक विद्यालय छन् । शिक्षा समिति सदस्य महम्मद सगीरले गणित, विज्ञान र अंग्रेजीजस्ता विषयका शिक्षकको अभावले पनि समस्या थपिएको बताए ।

उपप्रमुख रोशन प्रविण र कारखाना समूहका मधेश प्रदेश संयोजक निरजकुमार मिश्रले पनि विद्यालय सुधारका लागि स्थानीय सरकार र सबै सरोकारवालाको सक्रिय भूमिकामा जोड दिए ।