विद्युत् प्राधिकरणको स्पष्टीकरण : ‘लोडसेडिङ होइन, प्राविधिक समस्या मात्रै हो’


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्ला भ्रामक रहेको स्पष्ट पारेको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले चनौली वितरण केन्द्रअन्तर्गतका केही क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या प्राविधिक कारणले भएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने जनाएको छ ।
प्राधिकरणका अनुसार, चनौली सबस्टेसन र भरतपुरबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक लोड बढेकाले समस्या देखिएको हो । वर्षायाममा पानी कम पर्दा सिँचाइका लागि विद्युत् माग बढ्नुले लाइन र ट्रान्सफर्मरमा भार परेको प्राधिकरणले बताएको छ ।
चनौली क्षेत्रको दीर्घकालीन समाधानका लागि बसेनी १३२ के.भी. सबस्टेसनबाट नयाँ ३३ के.भी. लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको र यो सकिएपछि समस्या हट्ने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले लोडसेडिङ नेपालका लागि इतिहास भएको भन्दै, चनौलीको समस्या २–३ दिनभित्र समाधान गरी नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।