सूर्य विनायकमा नयाँ रङ्गशाला बन्ने प्रधानमन्त्री ओलीको घोषणा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्य विनायकमा कम्तीमा ५० हजार दर्शक क्षमताको सुविधासम्पन्न नयाँ रङ्गशाला बनाउने घोषणा गरेका छन् ।
आज बालुवाटारमा सूर्य विनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्वसँगको छलफलमा प्रधानमन्त्री ओलीले काठमाडौंको दशरथ रङ्गशाला सानो भएकाले ठूलो रङ्गशालाको आवश्यकता औंल्याएका हुन् ।
छलफलका क्रममा सूर्य विनायक नगरप्रमुख वासुदेव थापाले नगरपालिकाको वडा नं ८, जगाते (पुरानो इँट्टा टायल कारखाना) मा रहेको २०० रोपनी जग्गा उपलब्ध गराउन सकिने र त्यसको प्रक्रिया छिटो अघि बढाउने जानकारी गराएका थिए ।
बैठकमा राखेप सदस्यसचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतको उपस्थिति थियो ।