सरकार परिवर्तन गर्न ओलीलाई बिदा गर्नुपर्छ : माधव नेपाल


विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारले देश पीडित भएको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार पूर्ण रूपमा असफल भएको बताए । उनले भने, ‘यो पीडाबाट तबसम्म मुक्ति हुँदैन जबसम्म केपी ओलीलाई बिदा गरिँदैन।’ ओली र शेरबहादुर देउवाको गठबन्धन रहेसम्म सरकार परिवर्तन नहुने उनको भनाइ थियो ।
अध्यक्ष नेपालले केपी ओलीका कारण एमालेभित्र ‘तमासा’ देखिएको र यसले कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउन सक्ने चेतावनी दिए । उनले ओलीले राष्ट्रलाई ठूलो नोक्सान पुर्याउने स्थितिमा पुर्याएको आरोप लगाए ।
आफूमाथि लागेको भ्रष्टाचारको मुद्दालाई उनले राजनीतिक प्रतिशोध मात्र भएको दाबी गरे । ‘मेरो मुद्दा भ्रष्टाचारको होइन, यो त मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो। नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’ उनले भने । उनले आफ्नो जीवनमा एक पैसा पनि तलमाथि नगरेको प्रस्ट पारे ।
माओवादी केन्द्रसँग पार्टी एकताको कुनै कुरा नभएको पनि उनले बताए । अहिले समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा मात्र सहकार्यको छलफल भइरहेको उनको भनाइ थियो ।