ध्यानको कमालः हट्छ तनाव, बढ्छ बुद्धि !


यस साता चिनेजानेका दुईजनाले घर छोडे । भाग्ने दुवै पुरूष परे । यदि महिला हुँदा हुन् त सिधै उनीहरूको चरित्रमाथि प्रश्न उठाइन्थ्यो । उनीहरूलाई के भयो भन्ने कुरो दोस्रो वर्गमा मात्र सोचिन्थ्यो । त्यसमा पनि आफन्तको तहबाट मात्र । ती आफन्त पनि सोच्न सक्ने भएको खण्डमा मात्र ।
नत्र उनीहरूमाथि इज्जतको गोली हानिन्थ्यो । पाकिस्तानमा जस्तै । हामीले हाम्रै समाजमा देखेकै विषय हो–माइतीले नचाहेकासँग मनोमानी विवाह गर्ने वयस्क महिलालाई माइतीहरू मार्न उद्दत हुन्छन् । त्यसमा पनि बाबु–दाजु नै लाग्छन् । वरवधु दुवैको निर्मम हत्या गरिन्छ ।
यसलाई ‘अनर किलिङ’ वा ‘इज्जत खातिर हत्या’ भनिन्छ । कतिपय धनाढ्यहरूले त अनर किलिङका लागि सम्पत्ति नै छुट्याएका हुन्छन् । मतलब, यदि छोरी वा बहिनी कथंकदाचित गरिब वा आफूलाई मन नपर्नेसँग भागी विवाह गरेमा हत्यावापत केटोको परिवारलाई क्षतिपूर्ति दिनका लागि अचल सम्पत्ति नै छुट्याइन्छ ।
यसबाहेक परिवारमा पत्नीलाई कामदारको दर्जामा हेर्ने अर्को पछौटेपन छ । यस समस्याले सबैभन्दा बढी नेपाली समाज पिरोलिएको छ । समाजले नै यस्तो गर्न दबाब दिन्छ । आफूभन्दा ज्येष्ठ नागरिकहरूसँग एउटै परिवारमा बसेका महिला यस्तो दबाबमा बाँचेका छन् । असह्य भएपछि कतिपयले आत्महत्या नै गर्छन् ।
पुरूषलाई पनि महिलाप्रति दबाब सिर्जना गर्न बाध्य पारिन्छ । खासगरी एउटै मात्र छोरो भएका परिवारमा यो समस्या सबैभन्दा जटिल छ । न उ छुट्टिन सक्छ, न पत्नीको कुरामा अडिग रहनसक्छ । यस्ता पुरूषले सधैं तरवारको धारमा हिँड्नुपर्छ । यस्तो पीडा पोख्ने खास ठाउँ पनि हुँदैन ।
अर्कोतर्फ पुरूष पात्रको कमाइ कम हुनासाथ परिवारमा कचकच सुरू हुन्छ । कमाइ गर्न नसक्ने पुरूषहरू परिवार त्याग्न बाध्य हुन्छन् । अध्यनहरूले के देखाएका छन् भने परिवारमा महिलाहरू आफूलाई बढी संवेगात्मक रूपमा असुरक्षित महसूस गर्दछन् । आफ्नो पुरूषलाई कब्जामा राख्ने प्रयास गर्दछन् । फलस्वरूप पुरूष परिवारबाट अलग हुन्छ । परिवारभित्र देखिने चारवटा कारणले मानिसहरूलाई घरबाट भाग्न बाध्य पार्दछ भन्ने अनुसन्धानले देखाएका छन् ।
पहिलो हो, ‘गोस्टिङ’ अथवा मौन रूपमा परिवारबाट अलग हुनु । अमेरिकाको जर्जिया विश्व विद्यालयले गरेको एक अनुसन्धान अनुसार प्रेम सम्बन्धमा आएको खटपट वा गृह कलहका कारण २५ प्रतिशत मानिस परिवार त्याग्छन् । यसरी परिवार त्यागेका ५० प्रतिशतले आफ्नो कार्यप्रति पश्चात्ताप गर्दछन् ।
यसैगरी बेलायतमा सन् २०१० देखि २०१२ सम्म १५ हजार वयस्कबीच गरिएको सर्वेक्षण अनुसार करिव ४० प्रतिशत मानिस एकलकाँटे बन्दै गएका कारण परिवारबाट अलग हुन्छन् । त्यस्तै आपसी कचकचका कारण २७ प्रतिशत अलगिन्छन् । बुढेसकालमा आउने मानसिक तथा शारिरीक परिवर्तनका कारण अरू १८ प्रतिशत अलगिन्छन् भने आपसी सद्भावको कमी, खासगरी, एकले अर्कालाई सम्मान दिन नसकेका कारण १७ र आर्थिक कारणले ७ प्रतिशत अलगिन्छन् ।
दोस्रो कारण हो–असाध्य रोग
क्यान्सर लगायतका दीर्घ रोग लागेपछि पनि मानिसहरू परिवारबाट अलग हुन्छन् । यो क्रम महिलाभन्दा पुरूषमा करिव सात गुणा बढी अलग हुने गरेको एक अमेरिकी अध्ययनले देखाएको छ । रोगी पतिलाई मात्र तीन प्रतिशत महिलाले छोड्छन् भने रोगी पत्नीलाई २० प्रतिशत पुरूषले छोड्छन् ।
अर्को कारण हो, संवेगात्मक असंलग्नता । अथवा, एकले अर्काको भावना नबुझ्नु । अमेरिकी अध्ययन अनुसार ४४ प्रतिशत मानिसहरू जीवनको कुनै न कुनै काल खण्डमा अर्काले भावना नबुझेको निहुँमा एकलकाँटे बन्दछन् । यो क्रम कम आय भएका पुरष र निसन्तान महिलामा बढी देखिएको छ ।
ध्यान– सबै समस्याको एक अचुक औषधि
ध्यानलाई अन्धविश्वास तथा भगवानको कृपाका दृष्टिले हेरिए यो विषयले हामीलाई रत्तिभर सहयोग गर्दैन । तर यसै विषयलाई विज्ञानसँग अझ खासगरी मस्तिष्कसँग जोडेर हेरिए यस्ता अव्यक्त समस्या समाधानमा यसले ठूलो भूमिका खेल्दछ ।
ध्यानले मानिसलाई अचानक पर्ने मानसिक झड्का, धोखा, क्रोध र तनावबाट मुक्ति दिन्छ । यति मात्र भइदिँदा पनि मानिस परिवारबाट भाग्दैन । ध्यानले मानिसको मस्तिष्कको ‘प्रिफ्रन्टल कर्टेक्स’ (पीएफसी) भनिने भागमा असर पार्दछ । यस भागलाई दिमागको ‘चलाख नेता’ मानिन्छ । यदि यस भागमा समस्या आए मानिस संगेवात्मक रूपमा कमजोर बन्दछ । चार दिनमात्र छोटो समय ध्यान गर्दा पनि पीएफसीमा सकारात्मक प्रभाव पर्ने भएकाले यसबाट मानिसहरू ध्यान केन्द्रित गर्न र पढे–सुनेका विषय सम्झन सक्ने क्षमता प्रदान गर्दछन् ।
यस सम्बन्धमा अमेरिकाको सान–दिएगोस्थित क्यालिफोर्निया विश्व विद्यालयका मनोचिकित्सक प्राध्यापक डा. फादेल जिदानले सन् २०१० मा गरेको अनुसन्धानबाट पुष्टि भएको छ । त्यस्तै, अमेरिकाकै टेक्सास टेक विश्व विद्यालयका प्राध्यापक डा. यि युवान ताङले सन् २००७ मा गरेको अनुसन्धान अनुसार दैनिक १२–१५ मिनेट ध्यान गर्ने मानिसको मस्तिष्कको ‘एन्टेरियर सिंगुलेट कर्टेक्स’ भन्ने भागमा सकारात्मक असर पार्दछ । यसबाट मानिसहरू विषय वस्तुमा ध्यान केन्द्रित गर्न तथा संवेग व्यवस्थापनमा सक्षम हुन्छन् ।
यसैगरी आठ हप्तासम्म ध्यान गर्नाले मस्तिष्कमा रहेको अमिगडोला नामक कोषीय क्षेत्र व्यवस्थित हुन्छ । यस अंगको काम मानिसलाई त्रास र तनाव सिर्जना गर्ने हो । यस सम्बन्धमा अमेरिकाकै हारवर्ड विश्व विद्यालयको चिकित्सा अध्ययन संस्थानकी प्राध्यापक डा. सारा लार्जले सन् २००५ मा गरेको अध्ययनको महत्वपूर्ण भूमिका छ । उनका अनुसार अमिगडोलाको सही व्यवस्थापनले मानिसलाई त्रास र तनावमुक्त बनाउँछ । लार्जरको अध्ययनलाई बोस्टन विश्व विद्यालयकी अनुसनधानकर्ता डा. एल्सा डेसबोर्डेसले सन् २०१२ मा बिरामी मानिसहरूमा परीक्षण गरी थप बलियो प्रमाण पेश गरिन् ।
अनुसन्धानकर्ताहरूका अनुसार ध्यानले मानिसलाई आफ्नो अन्तरचेतनाको महसूस गराउँदछ । यसबाट हामी संवेग व्यवस्थापन, यसका कारण शरीरमा आइपर्ने समस्या जस्तै हृदयमा असर, तनाव आदि व्यवस्थापन गर्न सक्दछौं । यसका लागि हाम्रो मस्तिष्कमा रहेको इन्सुला नामक अंग व्यवस्थित हुनुपर्दछ । यस तथ्यलाई पुष्टि गर्न क्यानाडाको टोरोन्टो विश्व विद्यालयका मनोचिकित्सक नरम्यान फार्ब र जर्मनीको बर्लिन विश्व विद्यालयकी प्राध्यापक डा. एलिन लुडर्सले महत्वपूर्ण अनुसन्धान गरेका छन् । फार्बले सन् २००७ मा गरेको अनुसन्धानलाई लुडर्सले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयमा अध्ययन गर्दा सन् २०१२ मा थप पुष्टि गरिन् ।
यसरी ध्यानलाई हाम्रा अन्तर भावनाको व्यवस्थापनमा प्रयोग गरी सुखी र खुशी हुन सकिन्छ भन्नेबारे प्रशस्त अध्ययन भएका छन् । ध्यानका लागि यस्तो आसन चाहिन्छ, उस्तो वस्त्र चाहिन्छ, यस्तो खानु हुन्न, उस्तो गर्नुहुन्न भन्ने प्रमाणहीन तर्क प्रस्तुत हुने गरेको छ । तर वास्तवमा यी बेमतलबी गफ हुन् । ध्यान मात्र मस्तिष्को कसरत हो । यसलाई आफू होसमा रहेका बेला सुकै अवस्थामा पनि अपनाउन सकिन्छ ।
ध्यान गरौं, आफू पनि सुखी बनौं र परिवारका अन्य सदस्यलाई पनि सुखी बनाऔं ।
Facebook Comments