कनकाई नगरपालिकामा विद्युतीय शवदाह गृह सञ्चालनको तयारी


झापा । झापाको कनकाई नगरपालिका–४ मा रहेको कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा यो गृह तयार भएको हो् ।
विद्युतीय शवदाह गृह निर्माण पूर्वाधार समितिका संयोजक गोपाल खरेलका अनुसार, भारतीय प्राविधिक टोलीले निर्माणको काम सकेर फर्किसकेका छन् र गत साउन २७ गते परीक्षण पनि सफल भएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक साताभित्र विधिवत् रूपमा शवदाह गृह सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए । यसको सञ्चालन नगरपालिकाले गर्ने गरी प्रदेश सरकारसँग सम्झौता भएको छ ।
विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा लाग्ने समय र दाउराको बचत हुने जनाइएको छ । यसले वातावरण संरक्षणमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
Facebook Comments