पर्वतमा सडक स्तरोन्नति गर्न ९६ करोड बजेट विनियोजन

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68aff9ff64d53.jpg

पर्वत । संघीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा पर्वतका ८६ वटा ग्रामीण सडकहरूको स्तरोन्नति गर्न ९६ करोड रुपैयाँभन्दा बढी खर्च गर्ने भएका छन् । 

यो रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत खर्च गरिनेछ ।

पर्वतस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार, प्रदेश सरकारले ६३ करोड ५७ लाख र संघीय सहरी विकास मन्त्रालयले ३३ करोड रुपैयाँ प्रदान गर्नेछन् ।

गत वर्षको तुलनामा यस पटक बजेट र आयोजनाको संख्यामा भने कमी आएको छ । गत वर्षभन्दा १९ करोड ४५ लाख बजेट कम र ५० वटा कम आयोजना रहेका छन् । यस वर्ष ६ वटा बहुवर्षीय योजनाका लागि पनि बजेट सुनिश्चित गरिएको छ ।

यसैगरी, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि ५१ लाख ४० हजार र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

साथै, बस्ती विकास कार्यक्रम अन्तर्गत पाँचवटा सडकका लागि २ करोड ७५ लाख रुपैयाँ छुट्ट्याइएको छ ।


Facebook Comments