म्याग्दीमा रातो च्याउको माग बढ्दो

म्याग्दी । म्याग्दीको बेनी बजारमा रातो च्याउको माग अत्यधिक बढेको छ । स्वादिलो र पोषिलो मानिने यो च्याउ किन्न उपभोक्ताहरूले निकै चासो देखाएका छन् ।
रघुगङ्गा गाउँपालिकाका लगीन छन्त्यालले कुइनेमङ्गलेको जङ्गलबाट ल्याएको २० किलो रातो च्याउ बेनी बजारमा आधा घण्टामै बिक्री भएको बताए । उनले भने, ‘जङ्गली च्याउको माग धेरै छ, खोज्न सके जति पनि बिक्री हुन्छ ।’
समुद्री सतहबाट तीन हजार मिटर उचाइका जङ्गलहरूमा पाइने यो च्याउ प्रतिकिलो १ हजार रुपैयाँ मा बिक्री भइरहेको छ । सुकुटी बनाएर सुकाएको च्याउको मूल्य भने ४ देखि ५ हजार रुपैयाँसम्म पर्ने गरेको गुर्जाका भविन छन्त्यालले बताए । गुर्जाका बासिन्दाहरूले च्याउ बेचेर वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।
डिभिजन वन कार्यालय, म्याग्दीका अनुसार जिल्लाका जङ्गलहरूबाट वार्षिक करिब ३० क्विन्टल रातो च्याउ उत्पादन हुन्छ । जिल्ला बाहिर बिक्रीका लागि पठाउँदा प्रतिकिलो १० रुपैयाँ राजस्व लिने गरिन्छ ।
रातो च्याउ टिप्न जोखिम र मेहनत भए पनि यसबाट राम्रो आम्दानी हुने गरेको स्थानीय व्यवसायीहरू बताउँछन् । यसलाई सुकाएर लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।
Facebook Comments