मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b015edad910.JPG

मन्थली । रामेछापको मन्थली नगरपालिका जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषित भएको छ । यहाँ आयोजित एक समारोहमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले यसको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय, बागमती प्रदेशले गरेको अनुगमनमा मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासनका लागि आवश्यक ५१ वटै सूचकहरू पूरा गरेको पाइएपछि यो घोषणा गरिएको हो ।

यी सूचकहरूमा बालबालिकाको बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास सम्बन्धी मापदण्डहरू पर्छन् ।

मन्त्री बादेका अनुसार, मन्थली नगर नेपालभर २७औँ स्थानमा र प्रदेशभर ११ औँ स्थानमा परेको छ । यस नगरपालिकामा १८ वर्षमुनिका १५ हजारभन्दा बढी बालबालिका रहेका छन्, जसको हितका लागि विभिन्न बाल समूह, किशोरी समूह र बाल सञ्जालहरू क्रियाशील छन् ।

मन्थली नगरप्रमुख लव श्रेष्ठले बालमैत्री घोषणाले बालबालिकाको हक अधिकार सुनिश्चित हुने बताएका छन् । यसैबीच, जिल्लाकै अर्को रामेछाप नगरले पनि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि अन्तिम तयारी गरिरहेको जनाइएको छ ।


Facebook Comments