धनगढी उपमहानगरमा पूर्ण छात्रवृत्ति : विज्ञानमा आकर्षण, समावेशी कोटा खाली

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6d9e9493b1.jpg

काठमाडौं । धनगढी उपमहानगरपालिकाको सिफारिसमा यस वर्ष ५१३ जना विद्यार्थीले निजी विद्यालयमा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका छन् ।

उपमहानगरले निजी विद्यालयले कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान कार्यान्वयन गरेपछि यस वर्ष पनि आवेदन परीक्षा लिइएको थियो ।

उपमहानगरका शिक्षा अधिकृत भोजबहादुर बोहराका अनुसार, यस वर्ष प्राप्त ३४९ छात्रवृत्तिको कोटामध्ये २७६ जनालाई मात्रै पूर्ण छात्रवृत्तिको लागि सिफारिस गरिएको छ । कुल ९७६ जनाले आवेदन दिएकोमा ६८८ जनाले मात्र परीक्षा दिएका थिए ।

विज्ञान विषयमा विद्यार्थीको आकर्षण अत्यधिक देखिएको छ । १४८ कोटाका लागि ७१२ जनाले आवेदन दिएका थिए, जसमध्ये १४३ जना छनोट भएका छन् । यसको तुलनामा व्यवस्थापन, मानविकी, कानुन र शिक्षा जस्ता विषयमा आवेदन कम परेकाले अधिकांश कोटा खाली रहेको छ ।

बोहराका अनुसार, छात्रवृत्तिका लागि खुला (५५%) र समावेशी (४५%) कोटा छुट्याइएको थियो । तर, समावेशी कोटाअन्तर्गत महिला, दलित, आदिवासी जनजाति, थारू, राना थारू, मधेसी र मुस्लिम लगायतका समूहबाट पर्याप्त आवेदन नआएकोले सबै कोटा भर्न नसकिएको उनले बताए ।

छनोट भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै शुल्क नतिरी अध्ययन गर्न पाउनेछन् ।


Facebook Comments