संस्कृति र सम्पदा संरक्षणमा प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
मेयरसाप डेस्क
|
२०८२ भदौ २० गते ०५:२०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव, २०८२ अन्तर्गतको चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको सदुपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले भने, “लोकतान्त्रिक शासन प्रणालीमा नै सबैलाई समान अवसर प्राप्त हुन्छ ।”
नेपालका कला, संस्कृति र सम्पदाको अध्ययन गर्न हरेक वर्ष लाखौँ पर्यटक नेपाल भित्रिने भएकाले यिनको संरक्षणका लागि सबै सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले नेपाली कला, संस्कृति र सम्पदाको प्रचारप्रसार गर्न सकेमा पर्यटकको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नेपाली कला, संस्कृति र सम्पदा हाम्रो पहिचान र वैभव भएको बताउँदै यिनको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने दायित्व सरकार, निजी संस्था र सबै नागरिकको भएको उल्लेख गरे ।
Facebook Comments