स्थानीय सरकारलाई संवेदनशील बन्न प्रजिअ निरौलाको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते १४:३०
Image of https://mayorsap.com/storage/photos/shares/darendra.jpg

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले आयोजना गरेको ‘मानव अधिकारको अवस्था, संरक्षण तथा संवद्र्धनमा विभिन्न निकायहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा नयाँ प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मानव अधिकारका विषयमा गम्भीर हुन सबै निकायलाई आग्रह गरेका छन् ।

मानव अधिकार संरक्षण राज्यको मूल दायित्व भएको उल्लेख गर्दै प्रजिअ निरौलाले पछिल्लो समय देशभर मानव अधिकार उल्लङ्घनका घटना विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले यस्ता घटना न्यूनीकरणका लागि सर्वप्रथम नागरिक स्तरबाटै सुधार थाल्नुपर्नेमा जोड दिए ।

संविधानमा धेरै विषय उल्लेख भए पनि मानव अधिकारका विषयमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनले स्थानीय सरकारलाई यस विषयमा बढी संवेदनशील र उत्तरदायी बन्न आग्रह गरे ।

सिमान्तकृत समुदाय, महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति र द्वन्द्वपीडितको हकहितका लागि बलियो आधार निर्माण गर्नुपर्ने र यसका लागि स्थानीय तह, प्रहरी प्रशासन, अदालत, नागरिक समाज तथा सञ्चारकर्मीबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी सरोकारवाला निकायहरूले जिल्लामा मानव अधिकार संरक्षणका लागि समन्वय र सहकार्य अझै मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेका छन् । यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदूरपश्चिम प्रदेशको समन्वयमा भएको थियो ।– गोविन्द तिमिल्सेना


Facebook Comments