कैलालीका तीन स्थानीय तहमा अपाङ्गता बालबालिका सम्बन्धी नीति बन्दै
स्थानीय नीति २०८२ को तयारी
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते १३:२७
कैलाली । कैलालीका तीन स्थानीय तह– लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति २०८२ निर्माण गर्ने तयारी गरेका छन् ।
गुडनेवर्स इन्टरनेश्नल नेपालको सहयोगमा नीतिको मस्यौदा तयार गरी छलफल भइरहेको छ । अब बन्ने नीतिले अपाङ्गता भएका बालबालिकाको हक अधिकार, सम्मानजनक जीवनयापन र राज्यका सार्वजनिक सेवा तथा अवसरहरूमा समान पहुँचलाई कानुनी रूपमा सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
लम्की चुहा नगरपालिकाकी प्रशासकीय अधिकृत सुषमा महता केसीले यसअघि आवश्यक नीतिको अभावमा अपाङ्गता क्षेत्रमा काम गर्न समस्या भएकोले नीति निर्माणपछि सहज हुने बताइन् ।
छलफलमा सहभागी दृष्टिविहीन प्रभुनाथ उपाध्यायले यो नीति कार्यान्वयन भएमा अपाङ्गता भएकाहरूलाई जीवनयापनमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।
संविधानले सामाजिक न्यायको हकमा अपाङ्गता भएका व्यक्तिलाई समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक निकायमा सहभागी गराउनुपर्ने प्रावधानको सुनिश्चितता गरेकाले पालिकाले सोही कार्यान्वयनका लागि नीति बनाउन लागेको हो ।
लम्की चुहा नगर प्रमुख सुशीला शाहीले यो नीतिको कार्यान्वयनले अपाङ्गता भएकाहरूको संविधान प्रदत्त हक अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरेकी छिन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कैलाली जिल्लामा मात्रै २२ हजार ४ सय ६५ अपाङ्गता भएका व्यक्ति छन् ।
Facebook Comments