सहकारी ठगी मुद्दामा रवि र छविको सुनुवाइ फेरि स्थगित
सहकारी ठगी प्रकरण
No Author Assigned | २०८२ मंसिर १२ गते १२:३४
बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत बुटवलमा स्थगित भएको छ ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, लामिछाने पक्षका कानुन व्यवसायीले नै आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएकाले सुनुवाइ रोकिएको हो ।
लामिछानेले जिल्ला अदालतको आदेश चित्त नबुझाई बिगोबमोजिमको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत बुझाएर थुनाबाहिर बसी मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
यसअघि उच्च अदालतले मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा रहेको मूल अभियोगको मिसिल मगाउने आदेश दिएको थियो ।
सामूहिक बिगो १० करोड ९९ लाख ३६ हजार रुपैयाँ कायम गरिए पनि व्यक्तिगत बिगो कति पर्ने भन्ने यकिन नभएको भन्दै जिल्ला अदालतले उनलाई साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।
हाल लामिछाने नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा छन् । लामिछानेले आफू सहकारीको शेयर सदस्य वा ऋणी नभएको दाबी गर्दै आएका छन् ।
Facebook Comments