वडास्तरबाटै आयोजना सम्झौता गर्दै धवलागिरि गाउँपालिका, समय र खर्चको बचत

गाउँबस्तीका बासिन्दालाई सिंहदरबार गाउँमा आएको महसुस गराउन वडामै पुगेर आयोजना सम्झौता

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १६ गते १२:४३
Image of https://mayorsap.com/storage/photos/shares/dhaulagiri-gaupalika.jpeg

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामस्तरबाटे आयोजना सम्झौता गर्न थालेपछि उपभोक्ता समितिका पदाधिकारी र सदस्यको झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । 

घुम्ती शिविर आयोजना गरेर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा कार्यालयमा पुगेर उपभोक्ता समितिसँग आयोजना सम्झौता गर्न थालेका हुन् । धवलागिरि–४ मुदीमा सोमबार भएको घुम्ती शिविरमा १३ वटा उपभोक्ता समितिसँग आयोजना सम्झौता भएको गाउँपालिका कार्यालयले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दुर्गम गाउँबस्तीका बासिन्दालाई सिंहदरबार गाउँमा आएको महसुस गराउन वडामै पुगेर आयोजना सम्झौता गरिएको बताए । 

“गाउँपालिकामा पुगेका उपभोक्ता समितिका पदाधिकारीहरू वडाको सिफारिसमा कुनै त्रुटि भए सच्याउन र अपुग कागजातका लागि पुनःवडामा फर्कनुपर्दा दुःख हुने भएकाले हामी आयोजना सम्झौताका लागि घुम्ती शिविर लिएर वडा कार्यालयमा पुगेका छौँ”, उनले भने, “यसरी वडामै सम्झौता गर्दा उपभोक्तालाई झन्झट हटेको छ ।”

चालु आवका लागि बजेट विनियोजन भएका आयोजनाको प्राविधिक टोलीले सर्वेक्षण, लागत अनुमान र नक्सा तयार पारेर उपभोक्ता समिति गठन गरेपछि घुम्ती शिविरमार्फत सम्झौताको व्यवस्था मिलाइएको धवलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीले बताए । मुदीमा चावका १६ मध्ये १३ वटाको समिति गठन र सम्झौता गरी कार्यान्वयन प्रक्रिया थालिएको उनले जानकारी दिए । 

आयोजना सम्झौताका लागि प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, प्रशासन र प्राविधिक शाखाका प्रमुखसहितको टोली वडामा पुगेको छ । चालु आवमा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने आयोजनाको यही मङ्सिरभित्र सम्झौता गरी चैतसम्म अन्तिम किस्ता भुक्तानी गर्ने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले उल्लेख गरे । 

गाउँपालिकाले स्थानीय कार्यालयमा पुगेर आयोजना सम्झौता गर्न अपायकपर्ने मुदीका साथै मुनासहित ताकम, मराङ र मल्कवाङमा पनि घुम्ती शिविर आयोजना गर्ने तयारी गरेको उनले बताए । उनका अनुसार रु १० लाखभन्दा बढी बजेटका आयोजना ठेक्कामार्फत र रु १० लाखभन्दा कम बजेटका आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने छ । 

धवलागिरि गाउँपालिकाले चालु आवमा करिब १५० वटा आयोजना छनोट गरेको छ । सातवटै वडा कार्यालयमा खटिएका प्राविधिकले आयोजनाको सर्वेक्षण, लागत अनुमान र डिजाइन तयार पारेपछि जनप्रतिनिधिले उपभोक्ता समिति गठन गरेर सम्झौताको तयारी गरेका छन् । 

वडा कार्यालयमै आयोजना सम्झौता भएपछि गाउँपालिका जान र आउन हुने समय तथा खर्चको बचत हुनुका साथै अन्य झन्झट हटेको धवलागिरि–४ को बगर–जेल्तुङ खानेपानी मर्मत आयोजनाको उपभोक्ता समितिका अध्यक्ष यमप्रसाद घर्तीले बताए । 


Facebook Comments