हेटौंडामा सडक विस्तार गर्न सबै राजनीतिक दल एकमत

User Image दिक्षान्स खड्का | २०८२ मंसिर १६ गते १२:०९
Image of https://mayorsap.com/storage/photos/shares/htd_2.jfif

हेटौंडा । हेटौंडा बजारको मुख्य राजमार्गको सडक दायाँबायाँ २५–२५ मिटर विस्तार गर्न सबै राजनीति दल एकमत भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको सर्वदलीय बैठमा सबै राजनीतिक दलका प्रतिनिधिले सडक विस्तार ‘अपरिहार्य’ भएको बताएका छन् । यद्यपि कार्यान्वयनका लागि व्यवस्थापन चुनौती उच्च रहेको उल्लेख गरेका छन् । 

छलफलमा एमालेका प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले आफू पनि सडक विस्तार योजनाबाट प्रभावित भएको बताए । उनले विकासका लागि २५/२५ मिटर सडक विस्तार आवश्यक भएको बताए । त्यसका लागि स्थानीयसँग पर्याप्त छलफल र समन्वय हुनुपर्नेमा केही कमी भएको महसुस भएको बताए । 

यसैगरी नेपाल कम्युनिष्ट पार्टीका तीर्थ थापा मगरले १५ दिने समयसीमा अत्यन्तै छोटो भएको भन्दै व्यवस्थापन–मनोविज्ञान दुवै पक्षलाई ध्यान दिनु पर्ने बताए । यस्तै रास्वपाका विष्णु दाहालले विस्तार आवश्यक भए पनि मानवीय क्षति न्यून पार्ने मोडेललाई प्राथमिकता दिनुपर्ने बताए।

यता, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ‘सुकुम्बासी’ शब्दको दुरुपयोग भएको बताए । उनले भने, “३० वर्षदेखि भाडा उठाउँदै आएका संरचना मालिक सुकुम्बासी होइनन्। सुरक्षा चुनौती हाम्रो जिम्मा हो, तर राजनीतिक नेतृत्व आन्दोलनमा उत्रिए प्रशासन काम गर्न सक्दैन।”

यसैगरी सडक डिभिजनका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सूचना जारी भएपछि १०–११ दिनमा एक जनामात्र औपचारिक निवेदन लिएर आएका छन्।  “समन्वयका लागि ढोका खुला छ,” उनले भने, “व्यक्तिगत स्वार्थ होइन, पदीय जिम्मेवारी पूरा गर्दैछु” ।

उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाटले व्यवसायीमा अनिश्चितता र संकट बढ्दै गएको बताए। “विकास रोक्ने चाहना छैन, तर समाधानबिना बजार अस्तव्यस्त बन्दै छ,” उनले भने। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा, राप्रपा, प्रगतिशील लोकतान्त्रिकलगायत दलका प्रतिनिधिको सहभागी रहेको थियो ।  

सडक डिभिजन कार्यालय हेटौंडाले मंसिर ५ गते सार्वजनिक सूचना जारी गरी रातोमाटेदेखि बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्मका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको थियो ।  

सूचना अनुसार करिब ९.५ किलोमिटर सडक खण्डभित्र पर्ने ५३१ संरचना राज्यको स्वामित्व क्षेत्रभित्र परेका छन्। दायाँ २३४ र बायाँ २९७ संरचनालाई ‘अतिक्रमण’को सूचीमा राखिएको छ। यसअघि पटक–पटक सूचना निकालिए पनि सडक विस्तार कार्यमा अवरोध हुँदै आएको थियो भने यस पटक पनि सडक विस्तारको तयारी थालेसँगै विरोध सुरु भएको छ । 


Facebook Comments