अन्तर्राष्ट्रिय लगानीको आयोजनामा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नुपर्छः उपमेयर डंगोल
मेयरसाप डेस्क
|
२०८२ मंसिर २७ गते ११:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र शहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताएकी छन् ।
यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०) सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन संघको मुख्यालयमा आयोजित अन्तर्राष्ट्रिय साझेदारीका लागि शहर र क्षेत्र २०२५ मञ्च (सिटीज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरम) मा प्रस्तुतिकरण दिँदै उपप्रमुख डंगोलले यस्ता कार्यक्रममा स्थानीय सरकारहरूलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउनुपर्ने धारणा राखेको उनको सचिवालयले जनाएको छ ।
“भौतिक पूर्वाधार विकासलाई संरचना बनाउने कामका रूपमा मात्र हेर्नु हुँदैन । यी संरचनालाई स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतासँग जोड्नुपर्छ । अनि मात्र स्थानीयले स्वामित्व ग्रहण गरेको दिगो विकास हुन्छ । यसका लागि ‘प्रोजेक्ट डिजाइनिङ’ चरणदेखि नै स्थानीयको सार्थक सहभागिता चाहिने हो ।” उनले भनिन्, “यसअघि अन्तरराष्ट्रिय साझेदारी र लगानीका अधिकांश योजना कार्यान्वयनको चरण अगाडि स्थानीय सहभागिता देखिँदैन ।”
युरोपेली सङ्घका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी सहभागी भएको कार्यक्रम ग्लोबल ‘गेटवे’ लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रित थियो । त्यस अवसरमा नेपालबाट उपप्रमुख डङ्गोल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) सहभागी थिए ।
Facebook Comments