प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २९ गते २२:४०
Image of https://mayorsap.com/storage/photos/shares/e-aayog.jpg

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । 

आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ । 

पर्यवेक्षणका लागि आवेदन गरेका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ती संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थालाई पाँच दिनभित्र थप कागजात बुझाउन पत्राचार गरिएको उनको भनाइ छ । माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक ती संस्थाका बारेमा निर्णय हुने आयोगले स्पष्ट पारेको छ । 

अनुमति पाएका राष्ट्रिय संस्थामा डेमोक्रेसी रिसोर्स सेन्टर, नेपाल, सामूहिक अभियान, नेपाल मानव अधिकार संगठन, युवा वकालत नेपाल, निर्वाचन पर्यवेक्षण समिति, नेपाल, लोकतन्त्र तथा निर्वाचन सरोकार, नेपाल, गैरसरकारी संस्था महासङ्घ, नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सङ्घीय बहसमा युवा, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह, नेपाल, नेपाल मतदाता अधिकार मञ्च, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपाल छन् । 

यस्तै मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान, नेपाल, सुशासन महासङ्घ, नेपाल, अन्तरराष्ट्रिय युएनएचआर काउन्सिल नेपाल, राष्ट्रिय व्यावसायिक पहल, महिला कानुन र विकास मञ्च, बागीश्वरी असल शासन क्लब (बास), समृद्ध आधार, नेपाल, कानुनी न्यायिक अध्ययन प्रतिष्ठान, महिला सेवा संस्था, नेपाल, युवालय, विश्व उपभोक्ता महासङ्घ, नेपाल, उन्नत नेपाल, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल, र सञ्चारिका समूह नेपाल, छन् । 

यसैगरी, अन्तरराष्ट्रिय संस्थाहरूमा द कार्टर सेन्टर, अमेरिका, एसिया नेटवर्क फर फ्रि इलेक्सन, द मल्टिडिसिप्लेनरी इन्स्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ मासाचुशेट्स, इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट रहेका छन् ।


Facebook Comments