धनगढी उपमहानगरमा घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा
१ लाख ३३ हजार नागरिक लाभान्वित
मेयरसाप डेस्क
|
२०८२ पुष २ गते १४:०७
धनगढी । धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सर्वसुलभ र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ निकै प्रभावकारी देखिएको छ । २०७९ साउनदेखि हालसम्म १ लाख ३३ हजारभन्दा बढी बिरामीले आफ्नै वडाबाट यो सेवा लिएका छन् ।
आर्थिक अवस्था कमजोर भएका र विपन्न नागरिकलाई लक्षित गरी १९ वटै वडामा सञ्चालित यस कार्यक्रमबाट ७८ हजार ७३६ जनाले जनरल फिजिसियन, २६ हजार २४२ महिलाले स्त्री तथा प्रसूति र ४० हजार ३४८ जनाले आँखासम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका छन् ।
सेवा लिनेहरूमध्ये २४ हजार ४२६ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन् । क्लिनिकले वडा स्तरमै भिडियो एक्स-रे, ई–सिजी, ल्याब परीक्षण र सुगर जाँच जस्ता आधुनिक सुविधाहरू प्रदान गर्दै आएको छ ।
प्रदेश सरकारको सहयोग र स्थानीय आँखा अस्पतालहरूसँगको साझेदारीमा सञ्चालित यो सेवाले गरिब तथा अशक्त नागरिकहरूलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिदिएको छ ।
प्रत्येक महिनाको एक दिन वडामा सञ्चालन हुने यस क्लिनिकले विशेषगरी नसर्ने रोगका बिरामी, वृद्ध–वृद्धा र सुत्केरीहरूलाई ठूलो राहत पुर्याएको छ ।
Facebook Comments