इच्छाकामनामा चुनढुङ्गा खानी बन्द गर्न स्थानीयको माग

सडक र बस्ती जोखिममा

User Image मेयरसाप डेस्क | २०८२ पुष २ गते १२:२७
Image of https://mayorsap.com/storage/photos/shares/ichchha.jpeg

चितवन । इच्छाकामना गाउँपालिका–२ मा सञ्चालित चुनढुङ्गा खानीका कारण बस्ती, सडक र विद्यालय जोखिममा परेको भन्दै स्थानीयले काम रोक्न माग गरेका छन् ।

गाउँपालिकाले आयोजना गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा स्थानीयले खानीले निम्त्याएका समस्याबारे जनप्रतिनिधिको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक पदमबहादुर चेपाङले खानीका ठूला मेसिन र सवारीसाधनका कारण ध्वनि प्रदूषण बढ्दा विद्यार्थीको पठनपाठन र आउजाउमा समस्या भएको बताए ।

सडकको क्षमताभन्दा बढी भार बोकेका टिपर गुड्दा ग्रामीण सडक भत्किएकाले यसले स्थानीय होमस्टे व्यवसाय र आन्तरिक पर्यटनलाई प्रत्यक्ष असर पुर्‍याएको पर्यटन व्यवसायी टीकाबहादुर गुरुङको भनाइ छ ।

स्थानीयले रिग्दी खोलाको ‘असला माछा’ संरक्षण गर्न र खानी सञ्चालनका नाममा भइरहेको सडक विनाश रोक्न माग गरे । साथै, उनले निर्माणाधीन सडकहरूको प्रभावकारी अनुगमन गर्न समेत आग्रह गरे ।

जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले विकासका लागि समन्वय आवश्यक रहेको बताए । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले स्थानीयका गुनासोलाई सुझावका रूपमा लिएर समाधानको प्रयास गर्ने प्रतिबद्धता जनाए ।


Facebook Comments