प्रमुख अतिथि बोलाएर प्रधानमन्त्री कार्कीलाई ललितपुर महानगरकी उपप्रमुख शाक्यले पढाइन् 'पाठ'

संघीय सरकारले काम गर्न नसकेको अवस्थामा जिम्मेवारी दिए जिम्मेवारी लिन तयार रहेको शाक्यको घोषणा

User Image रामचन्द्र मिश्र | २०८२ पुष २ गते १३:४५
Image of https://mayorsap.com/storage/photos/shares/manjali-shakya-and-sushila-karki.png

काठमाडौं । आफ्नो १०७ औं स्थापना दिवस मनाइरहेको ललितपुर महानगरमा प्रधानमन्त्री शुशिला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल अगाडि मञ्चमा बस्न मात्रै भ्याएका थिए, महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेचिलो तरिकाले उनीहरुका कामविरुद्ध ठूलो असन्तुष्टि प्रकट गरिन् ।

‘यहाँहरुले अहिले गास–बास–कपास दिनुभन्दा पनि कतिपयको उठिबास गरिरहनुभएको छ । यो कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन ?’, शाक्यले सोधिन्, ‘अहिले उठिबास चाहिँ नगरिदिँदा हुन्छ कि भन्ने हाम्रो आग्रह रहेको छ । र, यहाँले होइन्, यहाँको टिमले चाहिँ यो ठाउँमा बसेर पदको, सम्पत्तिको दुरुपयोग नगरिदिनुहोला । जेनजी जस्तै अरु थुप्रै देशभक्त नागरिकले यो सरकारको कामलाई नियालेर हेरिरहेको छ । कृपया उहाँहरुले फेरि आवाज उठाउनु पर्ने अवस्था सिर्जना नगरियोस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु ।’

उनी यतिमात्रैमा रोकिइनन्, नक्कली जेनजीको प्रभावमा सक्कली जेनजीको मागअनुसार काम नगरेको आरोप पनि प्रधानमन्त्री कार्कीलाई लगाइन् । ‘आज जनता के भन्दैछन् भने हाम्री आमाले अरुले जस्तै पो गर्ने हुन् कि ?, केही नगर्ने पो हुन् कि भनेर कुरा गर्न थालेका छन्’, शाक्यले अगाडि भनिन्, ‘...निर्वाचनको जुन जिम्मेवारी यहाँहरुले लिनु भएको छ, त्यो जिम्मेवारी पनि निश्पक्ष रुपमा, प्रतिशोध बिना यहाँले पूरा गर्नु हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । तर जनभाषाले के भनिरहेको छ भने हाम्री आमा आफ्नै विवेकले भन्दा पनि नक्कली जेनजीको कुरा सुनेर अगाडि बढिरहेको हो भन्ने आरोप लाग्न थालेको छ । नक्कली जेनजीको कुरा सुनेर मात्रै अगाडि नबढ्न हामी यहाँलाई अनुरोध गर्दछौं ।’

उनले स्थानीय सरकारले सरसफाईको काम गर्न चाहेको भए पनि संघीय कानुनलगायतले बाधा पुर्याएको र प्रधानमन्त्रीले त्यसलाई सहजिकरण गरिदिन अनुरोध गरिन् । मौलिक हकमा रहेका खानेपानी, सरसफाईलगायतका हक नागरिकले प्राप्त गर्न नपाएको गुनासो पनि शाक्यले प्रधानमन्त्री कार्कीलाई सुनाइन् ।

उनले अगाडि भनिन्, ‘आमालाई देश सुम्पेको भनेर जेनजीहरुले यहाँलाई यो स्थानमा पुर्याइएको छ ।...कुर्सीको गरिमा जसरी जेनजीले यहाँलाई सुम्पेको छ । त्यसरी त्यसको गरिमा रहनेछ भन्ने आशा गरेको छु ।’

तिक्तता शाक्यको यहाँ अझै सकिएन । अगाडि बढ्दै शाक्यले भनिन्, ‘आज जनता के भन्दैछन् भने हाम्री आमाले उस्तै गर्ने हुन् कि, केही पो नगर्ने हुन् कि भनेर कुरा गर्न थालेका छन् ।’

शाक्यले त्यतिमात्रै भनिन्, संघीय सरकारले काम गर्न नसकेको अवस्थामा आफूहरुसँग जनशक्तिदेखि स्रोतसाधन पनि रहेको र जिम्मेवारी दिए जिम्मेवारी पनि लिने घोषणा नै गरिन् । गृहमन्त्रीको विषयमा उनले व्यक्तिगत रुपमा तिक्तता त पोखिनन्, आफ्नो सम्बोधनमा गृहमन्त्रीको नाम लिन पनि उनले नचाहेको देखियो । शाक्य एमालेबाट महानगरको उपमेयरमा निर्वाचित व्यक्ति हुन् ।

प्रधानमन्त्री शुशिला कार्कीले उपप्रमुख शाक्यलाई जवाफ त फर्काइनन् । बरु उपप्रमुखले भनेको विषयलाई आफूले तिक्तताको रुपमा नलिले बताइन् । उनले उपमेयरले आफ्नो भाषणमा दिएको सुझाव अनुसार नै अगाडि बढ्ने बताइन् ।


Facebook Comments