मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण

User Image मेयरसाप डेस्क | २०८२ पुष २ गते १४:२४
Image of https://mayorsap.com/storage/photos/shares/4kul.JPG

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको र महाकाली चार लेन पुलको स्थलगत निरीक्षण गरेका छन्। 

सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले आयोजनाको पछिल्लो प्रगतिका बारेमा जानकारी गराए । 

लामो समयदेखि प्रक्रियागत अल्झनले पुल र सिचाँइको काम प्रभावित भएपछि बनेको जनाइएको छ । राष्ट्रिय गौरवको आयोजनामा महाकाली सिँचाइ तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएर पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइका लागि संरचना तयार भए पनि टनकपुरबाट भारतीय पक्षले नहरमा पानी नछोड्दा यहाँका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन् ।

सो अवसरमा उनले सिँचाइ आयोजनाको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए। “महाकाली सिँचाइ तेस्रो चरण नहरमा पानी सञ्चालनका लागि माथिल्लो तहबाट नै भारतसँग पहल भइरहेको छ”, उनले भने, “यहाँको समस्याका बारेमा जानकारी भएको छ समस्या समाधानमा लाग्छौँ ।” 

त्यसैगरि भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको छेउमा निर्माण हुने कृतिम ताल र तटबन्ध निर्माणका लागि मन्त्रिपरिषदस्तरीय निर्णय नहुँदा डेढ वर्षदेखि निर्माण कार्य बन्द छ । यसअघि निर्माण भएको तटबन्ध महाकाली नदीको बाढीले भत्काएपछि डिजाइनमा परिवर्तन गरिएको थियो । उक्त डिजाइन हालसम्म पनि स्वीकृत नहुँदा काम हुन सकेको छैन । उनले भने, “तटबन्ध निर्माण नहुँदा यहाँ बाढीको जोखिम रहेछ बर्सात अघि नै यहाँको समस्या समाधान हुनेगरी काम गर्छौं ।” 


Facebook Comments