बाजुराको स्वामिकार्तिकमा आगलागी हुँदा दुई घर जलेर नष्ट
सोलार सर्ट हुँदा ३ तले घरमा क्षति
गोविन्द तिमिल्सेना
|
२०८२ पुष ३ गते १५:०१
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ जोरुमा सोलारको ब्याट्री सर्ट भई आगलागी हुँदा दुई परिवारको घर र धनमाल जलेर नष्ट भएका छन् ।
जोरु बस्ने गोविन्द कडाराको ३ तले ४ कोठे कच्ची घरबाट बुधवार राति करिब ७ः५० बजे सुरु भएको आगलागीले सँगै जोडिएको धर्म कडाराको घरमा समेत क्षति पुर्याएको हो ।
आगलागीबाट मानवीय क्षति नभए पनि गोविन्द कडाराका ११ वटा कुखुरा जलेर मरेका छन् । दुवै परिवारको घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घरमा अचानक सोलारको ब्याट्री सर्ट हुन गई आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट खटिएको टोलीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेको छ र यसबारे थप अनुसन्धान भइरहेको छ ।
बाजुरामा पछिल्लो समय आगलागीका घटना बढे पनि जिल्लामा एउटा पनि दमकल नहुँदा सामान्य आगलागीले पनि भीषण रूप लिने र स्थानीयले ठुलो धनजनको क्षति बेहोर्नुपर्ने बाध्यता रहेको छ ।
Facebook Comments