सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबीच बिदाइ भेट
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते १३:२०
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि चीनका राजदूत छन सोङबीच आइतबार सिंहदरबारमा बिदाइ भेटवार्ता भएको छ ।
कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत सोङसँगको भेटमा द्विपक्षीय हित र सहयोगका विविध पक्षमा छलफल भयो ।
सभामुख घिमिरेले राजदूत सोङको कार्यकालमा नेपाल–चीन सम्बन्ध सुदृढीकरण र संसदीय सम्बन्ध मजबुत बनाउन पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
भेटका क्रममा सभामुखले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपाली भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने स्पष्ट पारे ।
सभामुखले ’बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका आयोजना र अन्य विकास सहायता परियोजनाहरूलाई छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
राजदूत सोङले नेपाल चीनको उच्च प्राथमिकतामा रहेको बताउँदै धेरै चिनियाँ व्यवसायीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए । उनले राष्ट्रपति सी जिनफिङको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा सफलता मिलेको समेत उल्लेख गरे ।
सन् २०२५ लाई दुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका रूपमा भव्यताका साथ मनाइएको र यसले सम्बन्धलाई थप उचाइमा पुर्याएको दुवै पक्षले निष्कर्ष निकालेका छन् ।
Facebook Comments