देश निर्वाचनको दिशामा अघि बढिसक्यो : प्रचण्ड

फागुन २१ मै चुनाव हुन्छ

No Author Assigned | २०८२ पुष २० गते १४:२०
Image of https://mayorsap.com/storage/photos/shares/prachanda-wnih3e4hms.jpg

सङ्खुवासभा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले मुलुक पूर्ण रूपमा निर्वाचनको प्रक्रियामा प्रवेश गरिसकेको बताएका छन् । 

सङ्खुवासभामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अब सर्वदलीय वा सर्वपक्षीय सरकार बन्ने सम्भावना टरेको स्पष्ट पारे ।

प्रचण्डले पहिले संसद् पुनस्र्थापनाको माग गर्ने दलहरू र विभिन्न मागसहित आन्दोलित जेनजी समूहहरू समेत अहिले निर्वाचनकै पक्षमा उभिएको दाबी गरे ।

‘अहिले सबै राजनीतिक दलहरू चुनावको तयारीमा होमिएका छन्,’ उनले भने, ‘निर्वाचन आयोगमा समानुपातिकको बन्द सूचीसमेत बुझाइसकिएको अवस्थामा अब पछि हट्ने ठाउँ छैन ।’

संयोजक प्रचण्डले वर्तमान सरकारले नै तोकिएको मिति अर्थात् फागुन २१ गते सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गरे । 

सबै पक्ष निर्वाचनकै विकल्पमा सहमत भइसकेकाले अबको केन्द्रविन्दु चुनावी प्रतिस्पर्धा नै हुने उनको भनाइ थियो ।


Facebook Comments